एमाले महाधिवेशन : लाइनमै पुगेर भोट माग्दै उम्मेदवार (तस्बिरहरू)

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन अब निर्णायक मोडमा पुगेको छ । नयाँ नेतृत्व चयनको रस्साकस्सी टुंग्याउन देशभरबाट आएका प्रतिनिधिहरू यतिबेला भृकुटीमण्डपमा लामबद्ध हुन थालेका छन् । केहीबेरमा सुरु हुने मतदानका लागि प्रतिनिधिहरूको चहलपहल बढ्दा उम्मेदवारहरू भने अन्तिम मत माग्न व्यस्त देखिन्छन् ।

मतदानस्थलको माहोल एकाएक तातिएको छ । एकातिर प्रतिनिधिहरू लामो लाइनमा उभिएर आफ्नो पालो पर्खिरहेका छन् भने अर्कोतिर उम्मेदवारहरू लाइनमै पुगेर ‘नमस्कार’ गर्दै आफ्नो पक्षमा मत खसाल्न आग्रह गरिरहेका छन् । अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मका आकांक्षीहरू मतदाताको नजिक पुगेर अन्तिम पटक विश्वास जित्ने प्रयासमा जुटेका देखिन्छन् ।

पूर्व निर्धारित तालिका अनुसार भृकुटीमण्डपको मुख्य हलमा मतदान हुनुपर्ने थियो । तर, बुधबारका लागि उक्त हल अन्य प्रयोजनका लागि बुकिङ भइसकेकाले एमालेले बन्द सत्र सञ्चालन भएको स्थानमै मतदान केन्द्र खडा गरेको छ । २ हजार २ सय ६२ महाधिवेशन प्रतिनिधिले आगामी ५ वर्षका लागि एमालेको सारथी चुन्नेछन् ।

ओली र पोखरेलबीच मुख्य भिडन्त
अध्यक्ष पदमा निवर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच कडा टक्कर हुँदैछ । दुवै नेताले आ-आफ्नो समूहसहित उम्मेदवारी दर्ता गराएपछि चुनावी सरगर्मी बढेको हो ।

यस्तै, महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे आमनेसामने हुँदा ५ जना उपाध्यक्षका लागि ११ जना प्रभावशाली नेताहरू मैदानमा छन् । ३ उपमहासचिव पदका लागि ७ जना र ९ सचिव पदका लागि २० जनाले उम्मेदवारी दिएपछि प्रतिस्पर्धा रोचक बनेको छ । यस महाधिवेशनले पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।

यसपटकको नेतृत्व चयन प्रक्रियालाई चुस्त र आधुनिक बनाउन एमालेले ‘रामलक्ष्मण इनोभेसन प्रालि’ ले तयार पारेको विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको छ । प्रालिका प्राविधिक लक्ष्मण रिमालका अनुसार ८० वटा मेसिनमा डाटा इन्ट्री सकेर पूर्ण तयारी अवस्थामा राखिएको छ । यद्यपि, धेरै पद र उम्मेदवार भएकाले एक मतदातालाई मतदान प्रक्रिया पूरा गर्न करिब ३५ देखि ४० मिनेट लाग्ने अनुमान गरिएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु हुनेछ ।

  • तस्बिरहरू :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 12 =