प्रभु बैंकका सीईओ शेरचनसहित तीन जनामाथि ५ दिनको म्याद थप

काठमाडौं । उच्च अदालत पाटनले प्रभु बैंकका कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन जनामाथि थप पाँच दिन अनुसन्धान गर्न अनुमति दिएको छ । कर्जा अपचलनसम्बन्धी मुद्दामा पक्राउ परेका उनीहरूलाई थप म्याद आवश्यक परेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ ।

सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार उच्च अदालत पाटनले सीईओ शेरचन, डेपुटी सीईओ मणिराज पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठमाथि थप पाँच दिन अनुसन्धान गर्न अनुमति दिएको हो । मंसिर १४ गते आइतबार तीनै जनालाई पक्राउ गरिएको थियो ।

यस्तै, बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनमाथि समेत सीआईबीले करिब एक अर्ब रुपैयाँ ठगीसम्बन्धी कर्जा अपचलन मुद्दामा अनुसन्धान गरिरहेको छ । प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको आधारमा भट्टचनलाई कात्तिक ११ गते प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − two =