दिवङ्गत श्रीमतीको स्मृतिमा गलेश्वरमा सामुदायिक भवन निर्माण

म्याग्दी । जिल्लाको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर शिवालय मन्दिर परिसरमा दाताले दिवङ्गत श्रीमतीको स्मृतिमा रु एक करोड २५ लाखको लागतमा सामुदायिक भवन निर्माण सुरु गरेका छन् ।

काठमाडौँका डा सुरज काफ्लेद्वारा दिवङ्गत श्रीमती बिन्दु पराजुली काफ्लेको नाममा स्थापित संस्थाले निर्माण गर्ने भवनको आज गलेश्वर शिवालय क्षेत्र विकास कोषका संरक्षकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले शिलान्यास गरे ।

‘बिन्दु काफ्ले फाउण्डेसन’ले रु एक करोड २५ लाखमा दुईतले भवन निर्माण गरी कोषलाई हस्तान्तरण गर्ने कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए । “फाउडेसनका कोषाध्यक्ष एवं कोषका सल्लाहकार रमेशप्रसाद सुवेदीले भवन निर्माणको संयोजन गर्नुभएको छ”, उनले भने “भूकम्प प्रतिरोधी र अपाङ्गमैत्री भवनको भुई तलामा सभाहल तथा पहिलो तलामा कोषको सचिवालय राखिनेछ ।”

कोषको कार्यालय सञ्चालन र गलेश्वर मन्दिरमा दर्शन तथा पूजाआजाका लागि आउने भक्तजनलाई भवन निर्माणपछि सहज हुने अपेक्षा गरिएको अध्यक्ष रेग्मीले बताए । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्धारका रूपमा परिचित गलेश्वर म्याग्दीको प्रमुख धार्मिकस्थल हो ।

कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरमा शिवालय मन्दिर पनि छ । हिन्दू धर्मग्रन्थमा गलेश्वरमा सतिदेवीको गला पतन भएको उल्लेख छ ।

साउनको सोमबार, बालाचतुर्दशी र महाशिवरात्रि पर्वमा मेला लाग्ने गलेश्वरमा दैनिक नित्य पूजाआजा गरिन्छ । गलेश्वरमा पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास रहिआएको स्थानीय बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − three =