घोषित मितिमा निर्वाचन गराई युवाशक्तिको हातमा सत्ता सुम्पिन तयार छौँ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा निर्वाचन सम्पन्न गराई युवाशक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तिब्र विकासको मार्गमा अग्रसर गराउनुपर्ने सरकार प्रमुख दायित्व भएको बताएकी छन् ।

ज्यापु संस्कृति विकास कोषको आयोजनामा आज काठमाडौंमा सम्पन्न २२ औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।

उनले घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार पूर्णरुपमा तयारीमा जुटेको पनि बताइन् । ‘सरकारले आउँदो फागुन २१ गते आम निर्वाचन गराई युवाशक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तिब्र विकासको मार्गमा अग्रसर गराउनुपर्ने हाम्रो दायित्व हो,’ उनले भनिन् ‘तसर्थ घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सरकार सम्पूर्ण रुपले तयारीमा जुटेको छ । यस अभियानलाई सफल पार्न सबै नेपालीको सहयोगको अपेक्षा समेत गर्दछु ।’

उनले जेनजी आन्दोलनले उठाएका मागहरु सम्बोधन गर्न सरकार गम्भीर रहेको पनि बताइन् । जेनजी आन्दोलनले भ्रष्टाचारको अन्त्य, सुशासन, रोजगारी र गास, बास, कपासको ग्यारेन्टी माग गरेको उल्लेख गर्दै उहाँले ती मागहरु पूरा सबै कटिवद्ध हुनुपर्नेमा जोड दिइन् ।

‘भदौ २३ र २४ को जेन–जी आन्दोलनसँगै घटेका घट्नाहरुबाट हामीले एउटा पाठ सिक्नपरेको छ । मुलुकको युवा शक्तिले भ्रष्टाचार अन्त्य, सुशासनको स्थापना, आम जनतालाई रोजगारी, गास, बास, कपासको सुनिश्चितताको माग गरेको छ । ती मागहरुलाई पूरा गर्न सबैले कटिवद्ध भएर आ–आफ्नो ठाउँबाट लाग्न आवश्यक छ’ उनले भनिन् ।

उनले संस्कृतिको संरक्षणसँगै पर्यटनसँग जोड्नुपर्ने पनि बताइन् । उनले उपत्यकाका नेवार समुदायलाई योमरी पुन्ही तथा ज्यापु दिवसको अवसरमा शुभकामना समेत व्यक्त गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =