एचआइभी सङ्क्रमित: खुल्दा र नखुल्दा दुवैमा समस्या

काठमाडौँ । एचआइभी एड्स सङ्क्रमित खुल्दा र नखुल्दा दुवैमा समस्या हुने गरेको पाइएको छ । चितवनका सङ्क्रमितहरुले खुल्दा रोजगारी र घरपरिवारमा समस्या हुने गरेको एवं नखुल्दा सेवा पाउन समस्या हुने गरेको बताएका छन् ।

माडी नगरपालिकाकी अस्मिता महतो (नाम थर परिवर्तित) ले सङ्क्रमित भनेर खुल्दा रोजगारी नपाउने र नखुल्दा सेवा नपाउने गरेको गुनासो गरिन् र

उनले भनिन् ‘खुल्दा पनि समस्या नखुल्दा पनि समस्या कसरी हामीले काम गर्ने?’

आफुले काम गरिराखेको संस्थाले एचआइभी सङ्क्रमित भन्ने थाहा पाएपछि कामबाट निकाला गरेको उनले बताइन् । आफूले एआरटी खान थालेको थाहा भएपछि रोजगारी खोसिएको उनले गुनासो गरिन् ।

परिवार चलाउन समस्या परेर काम गर्दा पनि रोजगारीबाट निकालिएको गुनासो गर्दै उनले सङ्क्रमित भनेर खुल्दा समस्या भएको बताइन् ।

परिवारबाट सहयोग पाए पनि काम गर्ने स्थानमा भने सहयोग नपाएको उनले गुनासो गरे । भरतपुर महानगरपालिकाकी ५६ वर्षीया अम्बिका देवकोटा (नाम थर परिवर्तित)ले सङ्क्रमित नखुल्दा पनि समस्या हुने गरेको गुनासो गरे । आफूले विसं २०६९ देखि एचआइभी एड्स सङ्क्रमित भएर औषधि खाँदै गर्दा पनि अहिलेसम्म खुल्न नसकेको उनले बताए ।

औषधि खाँदै गरेको भए पनि घरमा छोरालाई बाहेक कसैलाई थाहा नदिएको उनको भनाइ छ । उपचारका क्रममा आफ्नो व्यापार व्यवसाय सबै गुमाएको भए पनि उनी अहिलेसम्म खुलेर आउन सकेका छैनन् ।

उनले भने ‘किराना व्यवसाय गरेका थियौँ, त्यो पनि सकियो, अहिले ज्याला मजदुरी गरेर बस्नुपरेको छ ।’

कालिका नगरपालिकाकी अस्मिता सुवेदी (नामथर परिवर्तित) आफूलाई सङ्क्रमित भएको थाहा पाएपछि परिवारबाट समेत हेला हुनुपरेको बताउछिन् ।

आफू अहिले ५६ वर्ष भए पनि सुरुआती समयमा सासू र नन्दले घरबाट बाहिर निकालेपछि त्रिपाल टाँगेर बस्नुपरेको गुनासो गरिन् ।

उनले भनिन् ‘श्रीमान्का कारण आफूले परिवारबाट पाउनुपर्ने दुःख पाएको छु, परिवारले खान नदिएर छिछि र दुरदुर गर्ने गरेका थिए ।’

पानी लिन धारामा जाँदासमेत परिवारका सदस्यले अन्य धारा प्रयोग गर्ने गरेको भए पनि अहिले खुलेपछि भने पाउने सहयोग पाएको उनको भनाइ थियो । अहिले औषधि खाँदै समाजमा परिवर्तनका लागि काम गर्दै आएको उनले बताइन् । आफू घर परिवार र समाजमा परिचित भए पनि मिडियामा नाम नराख्न उनको आग्रह छ ।

बागलुङका ६५ वर्षीय रामचन्द्र आचार्य (नाम थर ठेगाना परिवर्तित)ले खुलेर आउन नसक्दा समाजमा गुम्सिएर बस्नुपरेको बताए । खुलेर आउँदा समाजले सुरुवातमा समस्या परे पनि अहिले त्यस्तो समस्या नभएको भन्दै सबैले मिलेर एड्ससँग लड्नुपर्ने उनले बताए ।

आफूलाई सङ्क्रमण देखिएपछि काम गरेको कम्पनीले निकालेर नेपाल आउँदा घरपरिवारबाट समेत घृणाको व्यवहार बेहोर्नुपरेको उनले बताए । रोजगारी गर्न जाँदासमेत कार्यालयका अन्य कर्मचारीले हेर्ने दृष्टिकोण परिवर्तन नहुँदा समस्या झेल्नु परेको उनले बताए ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा प्रमोद पौडेलले सन् २०३० सम्ममा एचआइभी एड्स सङ्क्रमण शून्यमा झार्ने योजनासहित काम गरिएको बताए । अहिले सङ्क्रमण नियन्त्रण र सङ्क्रमितको स्वास्थ्यलाई मध्यनजर गर्दै काम गरिएको उनको भनाइ छ । उनले भने ‘अहिले पहिलेको तुलनामा खासै ठूलो समस्या नभए पनि यसलाई शून्यमा झार्नका लागि समुदायमा चेतना बढाउन आवश्यक छ ।’

एएचएफ नेपाल भरतपुर अस्पतालका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले एचआइभी सङ्क्रमितलाई समाजले सहज रुपमा लिएर राम्रो व्यवहार गरिदिनुपर्ने बताए । खुलेर नियमित औषधि खाएमा रोग नियन्त्रण गर्न सकिने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 7 =