दक्षिण कोरियाली राष्ट्रपतिद्वारा उत्तर कोरियासँग सञ्चार माध्यमहरू पुनः स्थापित गर्ने प्रस्ताव

एजेन्सी । राष्ट्रपति कार्यालयकाअनुसार दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले मङ्गलवार प्रजातान्त्रिक जनगणतन्त्र कोरियासँग सञ्चार माध्यमहरू पुनर्स्थापित गर्ने प्रस्ताव राखेका छन् ।
लीले एकीकरणका मुद्दाहरूमा राष्ट्रपतिलाई सल्लाह दिने २२ औँ शान्तिपूर्ण एकीकरण सल्लाहकार परिषद्को उद्घाटन समारोहमा उक्त टिप्पणी गर्दै सात वर्षदेखि निलम्बित अन्तर–कोरियाली संवादलाई पुनर्जीवित गर्नु शान्तिपूर्ण सहअस्तित्वको नयाँ अन्तर–कोरियाली सम्बन्धको सुरुवात बिन्दु हुने कुरामा जोड दिए ।
उनले अन्तर–कोरियाली बैठकहरूले आकस्मिक सैन्य झडपहरू रोक्न, विभाजित कोरियाली प्रायद्वीपका कारण जनताको पीडा समाधान गर्न र दुई पक्षहरू बीच विभिन्न विचाराधीन मुद्दाहरूमा छलफल गर्न सुरु गर्नुपर्ने बताए ।
स्पष्ट संवाद पुनः सुरु गर्न अन्तर–कोरियाली सञ्चार माध्यमहरू पुनर्स्थापित गर्ने प्रस्ताव राखे । परिषद्को अध्यक्षको रूपमा सेवा गर्ने राष्ट्रपतिले दुई पक्षले जलवायु र वातावरण, विपद् र सुरक्षा, र जनस्वास्थ्य र चिकित्सा सेवा जस्ता क्षेत्रहरूमा अन्तर–कोरियाली आदानप्रदान र सहयोग परियोजनाहरू क्रमशः सुरु गर्न सक्ने उल्लेख गरे ।
लीले आफ्नो सरकारले प्रायद्वीपमा युद्धको अवस्था अन्त्य गर्न, आणविक मुक्त प्रायद्वीपको खोजी गर्न र दिगो शान्ति स्थापना गर्न प्रयास जारी राख्नेछ बताए ।
दुई कोरिया बीचको शत्रुता र टकराब अन्त्य गर्ने र शान्तिपूर्ण सहअस्तित्वको नयाँ अन्तर–कोरियाली सम्बन्ध सिर्जना गर्ने प्रतिबद्धता जनाए । प्राविधिक रूपमा प्रायद्वीप युद्धको अवस्थामा छ ।








