रौतहटमा नक्कली नोटसहित ३ जना पक्राउ

काठमाडौँ । ​रौतहटको ईशनाथ नगरपालिका वडा नं. ४ लतमरी टोलमा रौतहट प्रहरीले ठुलो परिमाणमा नक्कली नेपाली नोटसहित तीन जनालाई पक्राउ गरेको छ ।

​इलाका प्रहरी कार्यालय मठिया महुलिया र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मठियाको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको BR.05 AT 0983 नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मङ्गलवार लाखौँ नक्कली नोट सहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दुई जना नेपाली र एक जना भारतीय नागरिक रहेका रौतहट प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा जिल्ला रौतहट, देवाही गोनाही न.पा. वडा नं. ४ बस्ने सोनालाल राउतका छोरा २० वर्षीय अजय पटेल ,सोही ठाउँको रामबाबु पटेलका छोरा २१ वर्षीय गेनालाल पटेल र भारत, बिहार, जिल्ला मोतिहारी, पुर्वी चम्पारण, वडा नं. २, कुडवा चैनपुर बस्ने वीरेन्द्र सिंहका छोरा २३ वर्षीय जयप्रकाश कुमार रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूको साथबाट नेपाली खोटा (जाली) रू. १,००० दरका ११८ थान ​कुल रकमस् रू १,१८,००० (एक लाख अठार हजार रुपैयाँ) साथै BR.05 AT 0983 नम्बरको मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

​प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई नक्कली नोट (जाली नोट) सम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ । खुल्ला सीमा क्षेत्रमा भएको यो ठुलो परिमाणको नक्कली नोट बरामदले सुरक्षा निकायको सतर्कता बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eleven =