कार्तिकको वर्षातले कृषिमा २ अर्ब ९१ करोड बराबरको क्षति, सात प्रतिशत धान उत्पादन घट्ने

काठमाडौं । कार्तिकमा आएको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानबाट कृषि क्षेत्रमा करिव २ अर्व ९१ करोड बराबरको क्षति भएको अध्ययनले देखाएको छ ।
गत असोज १५, १६ र १७ गते अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण कृषि क्षेत्रमा करिव २ अर्व ९१ करोड बराबरको क्षति भएको हो ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले तयार पारेको स्थलगत अध्ययनले सबैभन्दा बढी क्षति धानबालीमा भएको देखाएको छ । त्यसपछि तरकारी र केराबालीमा क्षति भएको अध्ययन प्रतिवेदनले देखाएको मन्त्रालयका सूचना अधिकारी समेत रहेका वरिष्ठ कृषि अर्थविज्ञ महानन्द जोशीले जानकारी दिए । उनले यसको सबैभन्दा बढी क्षति कोशी प्रदेशमा भएको र त्यसमा पनि झापा जिल्लामा सबैभन्दा बढी धानबालीमा क्षति पुगेको बताए ।
उनकाअनुसार सो विपद्ले मधेस, वागमती र गण्डकी प्रदेशमा क्रमशः क्षति पु¥याएको छ । समग्रमा करिव २० हजार हेक्टर धानबालीमा क्षति पुगेको प्रतिवेदनमा औँल्याइएको छ ।
विपद्का कारण चालु आर्थिक वर्षमा करिव ५ देखि ७ प्रतिशत धान उत्पादन घट्ने अनुमान गरेको छ । विशेष गरेर मधेसमा तरकारीबालीको उत्पादन घट्ने पनि अध्ययनले देखाएको सूचना अधिकारी जोशीले बताए ।
अध्ययनमा विपद्बाट हुने क्षति न्युनिकरणका लागि चेतनामूलक कार्यक्रममा जोड दिन प्रदेश तथा स्थानीय सरकारलाई सचेत गराइएको छ । मौसम सम्बन्धि जानकारी लिने र त्यसबारे कृषकहरुको घरघरमा जानकारी गराउने काममा स्थानीय तथा प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने कुरा पनि प्रतिवेदनले औँल्याएको छ ।
प्रतिवेदनमा राहत तथा पुनःस्थापनाका लागि कृषि बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सुझाव दिएको छ । बीमामा जोडिन पनि कृषकहरुलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख छ । सूचना अधिकारी जोशीले दातृ निकायहरुले विपदमा परेका कृषकहरुलाई राहत दिनसके उनीहरुको पीडा सम्बोधन हुने सुझाव पनि प्रतिवेदनमा उल्लेख गरिएको बताए ।
अध्ययनले कात्तिकको वर्षाले धानबालीमा मात्र २ अर्ब ६६ करोड ४१ लाखको नोक्शानी गरायो । देशभर २० हजार १.५२ हेक्टरमा लगाइएको ७५ हजार ६७४ मेट्रिक टन धान नष्ट वा प्रभावित भयो । यसले यस वर्षको धान उत्पादन ५ देखि ७ प्रतिशतसम्म घट्ने अनुमान गरिएको छ ।
प्रदेशहरुमध्ये कोशी सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ २ अर्ब ५ करोडभन्दा बढीको क्षति भएको अध्ययनले देखाएको छ । त्यसपछि मधेशमा (२२ करोड ७६ लाख) र लुम्बिनीमा (१३ करोड ६८ लाख) बराबरको क्षति भएको अध्ययनले देखाएको छ ।
जिल्लातर्फ झापामा सबैभन्दा धेरै ८० करोड ७३ लाख, मोरङमा ५८ करोड ७८ लाख र सुनसरीमा ४५ करोड ३१ लाखको धानबाली क्षति भएको अध्ययनले देखाएको छ ।
धानबाहेक ५८६ हेक्टर तरकारी खेती नष्ट हुँदा २२ करोड २३ लाख र अन्य नगदे बालीमा २ करोड ४१ लाखको क्षति भएको छ । तरकारीको लागि पकेट क्षेत्र मानिएको सुनसरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही लगाएतका जिल्ला बढी प्रभावित भएको पाइएको छ ।








