कोप–३० मा हिमाल संरक्षणलाई छुट्टै मुद्दाका रूपमा स्थापित गर्न सफल भयौँ : मन्त्री परियार

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.मदनप्रसाद परियारले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघका पक्षराष्ट्रको सम्मेलनको ३० औँ श्रृङ्खला (कोप–३०) मार्फत हिमालको एजेण्डा विश्वव्यापी रुपमा स्थापित गर्न सफल भएको बताएका छन् ।
आईतवार राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री परियारले सो दाबी गरेका हुन् । उनले कोप–३० मा नेपालको सहभागिता विगतको तुलनामा थप सफल र प्रभावकारी भएको दाबी गरे ।
उनले सम्मेलनमा हिमालको एजेण्डा उठाउँदै हिमाल संरक्षणको मुद्दालाई छुट्टै मुद्दाको रुपमा स्थापित गर्न सफल भएको पनि बताए ।
नेपालले उठाएको हिमालको मुद्दालाई अन्य साना तथा टापु राष्ट्रहरुले समेत समर्थन दिएको बताए ।
उनले हानि नोक्शानी कोषका कार्यकारी निर्देशकसमक्ष नेपाललाई क्षतिपूर्ति दिने सन्दर्भमा प्राथमिकतामा राख्न आग्रह गरेको उल्लेख पनि गरे ।
उनले मुलुकको वर्तमान राजनीतिक कठिनाईका बीच कोपमा नेपालको सफल र प्रभावकारी सहभागिता रहेको बताए ।








