विवेकशील साझा पार्टीले गर्यो रास्वपासँग एकीकरण गर्ने निर्णय

काठमाडौं । वैकल्पिक राजनीतिको अग्रणी दल विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसंग एकीकरण गर्ने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारको बैकल्पिक राजनीतिक दलवीचको बृहत्तर ध्रुबिकरण÷ एकीकरण प्रस्तावलाई सर्वसम्मत अनुमोदन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीसंग एकीकरण गर्ने निर्णयलाई पारित गरिएको हो ।
’वैकल्पिक राजनीतिक शक्तिको अपरिहार्यताको महसुस भईरहेको वेला नवयुवाहरुको आन्दोलन ’जेनजी विद्रोह’ले विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीवीचको एकीकरणलाई तिब्रत्तर बनाईदियो, निर्वाचनमा पहिलो शक्ति भएर नेपाली जनताको विकास,संबृद्धि र सुशासनको उत्कट चाहनालाई परिणाममुखी बनाउने राजकीय दायित्वलाई सफल बनाउने प्रतिवद्धताका साथ एकीकरण गरिएको हो, यसले राष्ट्रिय सन्देश दिन्छ’, संयोजक एवं उपाध्यक्ष परियारको टिप्पणी छ ।
पार्टी एकीकरणका अन्य प्राविधिक सवालहरु दुवै दलका नेतृत्वहरुको उच्च समझदारीको जगमा चाँडै सहमतिमा टुंग्याईने छ । आगामी आईतबार राष्ट्रिय सभागृहमा घोषणा कार्यक्रम हुनेछ ।
वैकल्पिक राजनीतिका प्रणेता पार्टीका संस्थापक स्व.उज्वल थापाको योगदान र विवेकशील आन्दोलनलाई लिपीवद्ध गर्ने र प्रतिनिधि सभा निर्वाचनलाई परिणाममुखी बनाउने मुख्य बुँदामा दुई दलवीच एकीकरण भएको हो ।








