देशको दु:ख: गाउँ रित्ता, सहरमा अराजकता

काठमाडौँ । २०८२ मंसीर ९ गते अर्थात् हिजो मङ्गलवारको गोरखापत्र दैनिकमा ‘फ्रन्ट पेज’मै एउटा यस्तो समाचार थियो ‘गाउँसँगै विद्यालय पनि रित्तिँदै’ । हुन त सो समाचारले अहिलेको शासन, प्रशासन र राजनीतिलाई के पो सरोकार राख्ला र १ कसले पो सुन्ला देशको दुर्दान्त कथाहरू । त्यसमाथि हालैको जेनजी विद्रोह, त्यसपछिको ट्रर्याक बाहिरको राजनीति, दलहरुबीचको टकराब, बैमनस्यता, दिनहुँको आन्दोलन, अराजकता र अशान्तिको मौसममा ती समाचारहरू कसलाई के सरोकार ?
उद्योग धन्दा बन्द हुने र राजनीतिक दलहरू खुल्ने अनि नयाँ–नयाँ रङ्गी–बिरङगी नेताहरू जन्मने मौसममा ती समाचारको के अर्थ ? तर सो समाचारको अन्तर्यकथाले सोच मग्न आम नेपालीलाई पिरोल्छ । समाचारमा भनिएको छ ‘गाउँ छोडेर अधिकांश मानिसहरू बालबच्चा बोकेर भारत पलायन हुँदा बैतडीका ११४ वटा आधारभूत विद्यालय बन्द हुदैछन् ।’ गत वर्षको तुलनामै बैतडी जिल्लाका सामुदायिक विद्यालयमा झन्डै ८ हजार विद्यार्थी घटेका छन् । खासगरी बेरोजगारीकै परिणाम स्वरूप त्यसरी मानिसहरू गाउँबाट घरै ताल्चा लगाएर बाहिरिएका छन् । पहाडी जिल्लाहरूमा त त्यसरी बाहिरिनेहरूले घरै नफर्कने गरी छोडेर हिँडेका छन् । एउटा जिल्लाकै अवस्था यस्तो छ भने पुरै देशको अवस्था र कथाको अन्तर्य कस्तो होला ? कसले गर्ने त्यसको वास्तविक अध्ययन ? त्यसरी गाउँ नै छोडेर, देशै छोडेर मानिसहरू पलाएन भइरहँदा किन दुखिरहेको छैन देशको टाउको ? अहिले गाउँ छाड्ने, घरै छाड्ने र देशै छाड्ने समस्याको चुरो कारण बेरोजगारी हो । सरकारले हरेक वर्षको बजेटमा देश नै खाली हुने डरलाग्दो बेरोजगारी समस्यालाई पहिलो प्राथमिकतामा राख्नु पर्ने होइन । बजेटको मूल प्राथमिकता त्यसैमा हुनुपर्ने, नीतिको प्राथमिकता त्यसैमा हुनुपर्ने र दलहरूको प्राथमिकता त्यसैमा हुनुपर्ने हो नि । जनतालाई देशमा बस्ने वातावरण बनाउन नसक्नेहरूले देशलाई रिसंगापुर वा स्वीजरल्याण्ड बनाउँछौँ भनेर किन खोक्नु ?
सहर अराजकताको केन्द्र
सहरप्रति मानिसहरूको मोह घट्दो छ । तर मानिसहरू थुप्रनुपर्ने बाध्यताको केन्द्र बनिरहेको छ सहर । किनकि अवसर र रोजगारी केन्द्रीकृत भएकाले पनि सहर बाध्यताको केन्द्र छ । खासगरी संघीय प्रणाली लागु गरिए पनि त्यसको वास्तविक रूपमा लागु नगरिँदा, सङ्घीयताका सिद्धान्तहरू अलपत्र पर्दा देशले उही राजतन्त्रकालिन पुरानो अवस्था झेलिरहेको छ ।
खासगरी सहर अराजकताको केन्द्र पनि बनिरहेको छ । यहाँ मानवता हराएका छन् । यहाँ शक्ति र पैसा हुनेहरूले जे गर्दा पनि हुने अवस्था छ । कानुनको परिपालना निकम्मा भएकै कारण सहर अशान्त र अस्तव्यस्त छ । अन्यन्त्र सहरहरू शान्तिको केन्द्र बनिरहँदा, सुविधा र अवसरहरूको केन्द्र बनिरहँदा नेपालका सहरहरू अराजकताले जकडिएका छन् । ४० लाख भन्दा बढी मानिस बसोबास गर्ने काठमाडौँ उपत्यका (काठमाडौँ, ललितपुर र भक्तपुर) झन् बढी अशान्त बनिरहेको छ । घरी माओवादी जनयुद्धको प्रभाव, घरी भूकम्पको मार, घरी कोरोना तथा डेङगुको प्रकोप, घरी बाढी तथा डुबान । हुँदा–हुँदा अहिले त नयाँ पुस्ताको गम्भीर चुनौती र विद्रोहले सहर आक्रान्त छ । दिनहुँ दशथरी समूहहरूका आन्दोलन हुन्छन् । आन्दोलन गर्छौ भनेर धम्की दिनेहरू त कति कति १ जलेका घर सम्पत्तिहरू, सरकारी कार्यालयहरूका खरानी टकटकाइएका छैनन् । फेरी आन्दोलन गर्ने धम्कीहरू एक होइन अनेक कोणहरूबाट आइरहेका छन् । राजावादीहरू आन्दोलनमा थिए, आन्दोलन फेरी गर्छौ भनिरहेका छन् । जेनजीहरु पढाइ लेखाई हाँपेरै आन्दोलनमा छन् । भनिरहेका छन् पुराना राजनीतिक दलहरूले अति गरे, भ्रष्टाचार गरे, देश नाकाम बनाए, विकास गरेनन् । उनीहरू फेरी पनि आफ्ना माग र मुद्दा सम्बोधन नभए आन्दोलन नै गर्छौ भनिरहेका छन् ।
कतिपय ठुला भनिएका राजनीतिक दलहरू समेत निर्वाचन आयोगमा लाजगाजले दल त दर्ता गराएका छन् । च्याखे थापेका छन् तर भदौ २३ अघिको अवस्था फर्काउन उनीहरू हरहमेशा लागिरहेका छन् । एमालेले त जेनजी आन्दोलन र विद्रोहको परिणाम स्वीकारै गरेको छैन, संसद पुनस्थापनाका लागि आन्दोलनरत छ । सर्वोच्च अदालतमा संसद प्ुर्नरस्थापनाका लागि मुद्दा दायर गरिसकेको छ । फागुन २१ म निर्वाचन हुन्छ वा कथाले अर्कै रूप लिन्छ वा के हुने हो भन्न सकिने अवस्था छैन । यद्यपि अन्तरिम सरकार चुनाव गर्छौ, फागुन २१मै चुनाव हुन्छ भनिरहेको छ । तयारी पनि राम्रैसँग गरिरहेको देखिन्छ । द्धान्द्धात्मक अवस्थालाई भड्काउने भन्दा निर्वाचनका लागि शालीन रूपमा, भव्य रूपमा सरकार लागिरहेको देखिन्छ ।
देशमा एक हिसाबको रमिता चलिरहेको देखिन्छ । भविष्यमा के हुन्छ थाहा छैन । तर, यत्ति हो, देश झन्–झन् अराजकता र अशान्तितर्फ उन्मुख छ । खासगरी त्यो अराजकता र अशान्ति प्रमुख सहरहरूमा बढी केन्द्रित छ । आनन्दले आफ्नै पेसा, व्यवसाय गरेर शान्तिको जीवन गुर्जान चाहनेहरू अनेक कोणबाट भिक्टिम छन् । भविष्यको दृष्टिगोचर गर्ने हो भने देशमा बस्ने माहौल नै छैन । यो अराजकता सहेर, यो अशान्तिको भड्खालोमा रुमलिएर कसलाई बस्न मन होला र ? धेरैले देशप्रति भरोसा गुमाएका छन् । यो सङ्कटपूर्ण घडीमा पुराना दलहरू नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, नयाँ उदाएको रास्वपा, राप्रपा, मधेसवादी दलहरू सबैले विवेक गुमाएनन् र चुनावमा भाग लिए । चुनाव हुने वातावरण आफ्ना तर्फबाट बनाए भने चुनाव हुन्छ । र, मुलुक नयाँ मोडमा अघि बढ्ला पनि । किनकि जेनजी आन्दोलनको हालैको रापतापले यसपटक धेरै युवा पुस्ताहरू चुनिएर आउने सम्भावना छ । यदि दलहरू संयमित भएनन् र निर्वाचन आफनै बोली र व्यवहारका कारण बिथोले भने देश बरबाद हुनेछ । जनप्रतिनिधि विहीन हुनेछ । अस्थिरता र विदेशीहरूको खेल मैदान हुनेछ । त्यसकारण हरेक विवेकशील नागरिकले स्थिति फड्काउने होइन शान्ति र स्थिरता सहित निर्वाचनको माहौल बनाउनु पर्छ । अन्यथा आम नेपाली जनताको भविष्य अन्धकारमय हुनेछ ।
अहिले त काठमाडौँ उपत्यकाकै कुरा गर्ने हो भने तरकारी, खाद्यान्न लगायतका उपभोग्य वस्तुहरूमा महँगी अचाक्ली छ तर कसले त्यसको नियन्त्रण गर्ने रु बिहान र साँझ रिङ्गरोडमा गुड्ने बसहरूमा मान्छेहरू चढ्न सक्ने अवस्थामा छैनन् जो जहाँ पनि लुटिने, कुटिने अवस्था छ । सहचालक तथा गाडीवालाहरूको पेसेन्जर प्रतिको व्यवहार उस्तै हेपाहा, कर्कशलाग्दोे छन् । उपत्यका भित्रने र बाहिरिने गाडीहरूले चाडबाडका नाममा जतिपनि भाडा असुलेका छन् । कसले नियन्त्रण गर्ने रु सहरमा अपराधीहरू बढी रहेका छन् । गँजडी, लागु दुब्यसनी गर्नेहरू बढी रहेका छन् । रक्सी खाएर मातेका मान्छेहरू यत्रतत्र भेटिन्छन् र उनीहरूले मान्छेहरूलाई तर्साइरहेका छन् । सताइरहेका छन् । कसले नियन्त्रण गर्ने ?
हालैको जेनजी आन्दोलनको क्रममा ३ जना नेपाल प्रहरीले साहदत प्राप्त गरे । एक हजार भन्दा बढी घाइते भए र देशभरिका प्रहरी कार्यालयहरू जले । जसकारण उनीहरूको मनोबल कमजोर भएको देखिन्छ । त्यसमाथि ६ हजार भन्दा बढी हतियार र एक लाख गोलीगठ्ठा हराएका छन् त्यसक्रममा । ५ हजार भन्दा बढी जेलमा रहेका अपराधीहरू भगेका छन् । अनि भन्नुस् त समाज कति त्राहिमाम छ अहिले । त्यत्रा अपराधी, हातहतियार प्रहरीको नियन्त्रण बाहिर छ । जसले समाजलाई तर्साइरहेको छ । ती हतियार लिएर भागेकाहरूले समाजमा भित्रभित्र कति पिडा दिइरहेका होलान् कतिलाई सताइरहेको होलान् । त्यसको अनुमान गर्न सकिँदैन । अनि यो सहर कसरी शान्त हुनसक्छ ? कसरी बस्न लायक छ ? प्रहरीका दर्जनौँ हतियारधारी सिपाहीहरू लिएर बसेका नेता, पुर्बप्रमहरु समेतले असुरक्षा भयो । सुरक्षा पाउँ भनिरहेका छन् भने आम नागरिक जोसँग केही छैन, अभाव र गुनासाहरू बाहेक उनीहरू कसरी शान्त भएर बसुन् । त्यसकारण सरकारले काठमाडौँ उपत्यका लगायतमा यस्ता अराजकताहरू मथ्थर गरोस् । त्यसको लागि प्रयत्न गरोस् ।
काठमाडौँ उपत्यका मात्रै होइन देशका प्रमुख सहरहरूको हाल करिब उस्तै हुदैछन् । सहर अवसरको केन्द्र बन्नुपर्नेमा अराजकता र अव्यवस्थाको केन्द्र बनिरहेको छ । अघिल्लो महिना वीरगञ्ज महानगरमा झाडापखाला र हैजा फैलियो । धेरै मान्छे त्यसले बिरामी भए । केहीले त ज्यानै गुमाए । त्यो काबु बाहिर गएपछि झाडापखाला विरुद्ध भ्याक्सिनै लगाउन पने स्थिति बन्यो । हामीले कस्तो सहर बनाऔँ, जसकारण हरेक चुनौतीहरू सहरले सामना गरिरहेको छ । सहरहरू अति नै प्रदूषित हुँदै गएका छन् । कतिपटक त काठमाडौँ उपत्यका विश्वकै प्रदूषित सहर भनेर घोषित भयो । विषाक्त खानाका केन्द्र बनिरहेका छन् सहरहरू । स्वदेशी उत्पादन नहुँदा भारत लगायतमा अधिक विषादी प्रयोग गरी फलाइएका तरकारी तथा फलफूल सेवन गर्ने बाध्यता नेपालीहरूलाई छ । त्यसले रोगब्याधी बढाइरहेको छ । विदेशी रेमिटयान्स्ले चलेको देशको अर्थतन्त्र अधिक आयातले टाट पल्टाइरहेको छ । यो रियालिटीको महसुस कहिले हुन्छरु अनि सुधार कहिले ?
गाउँ बस्न लायक तर रित्तिँदै
हिजोआजका दिनहरूमा नेपालको सुदूर गाउँहरू बस्न लायक भइरहेका छन् । गाउँहरूमा बाटोघाटो पुगेको छ । सञ्चार र शिक्षालयहरू पुगेका छन् । तर मान्छेहरू भने गाउँबाट नै भागिरहेका छन् । गाउँले मान्छे खोजेको छ, मान्छेहरू गाउँबाट सहर र सहरबाट देशै छाडेर भागिरहेका छन् । यो सबै कुशासनले गर्दा हो । कोही पनि मन्त्री, प्रधानमन्त्री भएपछि ‘ग्राउण्ड रियालिटी’ भन्दा पर रहे । अघिल्लो वर्ष नेकपा एमाले सरकार विमुख हुँदा उसले मध्यपहाडी लोकमार्ग भएर पूर्वपश्चिम जागरण अभियान चलायो । माओवादीले पनि त्यसै गर्यो । त्यसक्रममा पहाडमा कम्तीमा ५ लाख घरहरू रित्ता रहेका, छाडेर मान्छेहरू तराइ वा सहर छिरेका वा देशै छाडेका भनेर अनुमान गरिए । हालै लमजुगंको केही गाउँहरू डुल्दा पक्तिंकारले पनि धेरै घरहरू ताल्चा लगाइएका, मान्छेहरू हराएका देखेको हो ।
अहिले नेपालको सतप्रतिशत गाउँ–ठाउँमा बिजुली, सञ्चार पुगिसकेको छ । सडकहरू जहाँतहीँ पक्की रूपमै पुगिसकेका छन् । सीमित ठाउँहरूलाई थाती राखेर गाउँमा खानेपानीको पनि अभाव छैन । तरकारी, फलफूल र अन्नपात त गाउँमै फल्ने भइहाल्यो । स्वच्छ हावापानी सहित बस्न लायक हुँदै गएको गाउँलाई मान्छेहरू लात मारिरहेका छन् । विकृति र विसङ्गतिको सहरी छानामुनि मान्छेहरू ओत लागिरहेका छन् । यसको एउटै कारण बेरोजगारी हुनसक्छ् । वास्तवमा गाउँमा रोजगारी कम छ । गाउँलेहरूले अलिअलि उत्पादन गरेका अन्नपातहरू पनि बेच्ने बजार छैन । त्यसलाई सरकारले कहिल्यै सम्बोधन गरेन । गाउँमा मान्छेहरू अडिन त्यहाँ रोजगारी र आम्दानी हुनेगरी वातावरण बन्न सक्नुपर्छ । अनिमात्र गाउँ रित्तिने छैन र छोडेर गएकाहरू फर्कनेछन् ।








