ज्वालामुखीका कारण नेपालबाट कतार जाने जहाज उडेनन्, विमानस्थलमा यात्रु अलपत्र

काठमाडौँ । इथियोपियाको अफार क्षेत्रमा अवस्थित हाइली गुब्बी ज्वालामुखी विस्फोटबाट निस्किएको बाक्लो धुवाँका कारण नेपाल–कतार हवाई उडानमा अवरोध सिर्जना भएको छ ।
धुवाँको प्रभाव परेपछि कतार एयरलाइन्सका दुई वाइडबडी विमान मंगलबार तय समयमै उडान भर्न नसकेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) का महाप्रबन्धक हँसराज पाण्डेका अनुसार बिहान १०ः०० र ११ः०० बजे उड्ने तालिकामा रहेका दुबै विमान धुवाँका कारण ग्राउन्डेड अवस्थामा छन् । “ज्वालामुखी विस्फोटपछि उत्पन्न धुवाँको जोखिमका कारण उडान रोकिएको हो,” पाण्डेले भने ।
उनका अनुसार रोकिएका दुवै विमान आज राति करिब २ः०० बजेतिर उडान भर्ने सम्भावना रहेको छ । तर अन्य अन्तर्राष्ट्रिय तथा घरेलु उडान भने प्रभावित भएका छैनन् ।
यसैबीच, कोरिया एयरलाइन्सको आजको काठमाडौं आगमन उडान पनि स्थगित भएको छ। कोरिया एयरलाइन्स अब भोलि साँझ मात्र नेपाल आउने महाप्रबन्धक पाण्डेले जानकारी दिए ।
कतार एयरलाइन्सको काठमाडौँ–दोहा र दोहा–काठमाडौँ उडान प्रभावित हुँदा सयौँ यात्रु विमानस्थलमै अलपत्र परेका छन् । उनीहरू हाल टिआइएको यात्रु कक्षमा बसिरहेका छन् ।








