काठमाडौं महानगरद्वारा २ हजार बढी कुकुरको बन्ध्याकरण

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक कुकुर व्यवस्थापन तथा पशु कल्याण अभियानअन्तर्गत छोटो समयमै २ हजार ८३ वटा कुकुरको बन्ध्याकरण सम्पन्न गरेको छ । गत कात्तिक १४ गतेदेखि सुरु भएको यो अभियानमा पशुकल्याणको क्षेत्रमा सक्रिय पाँचवटा संघसंस्थासँगको सहकार्यमा बन्ध्याकरणको काम भइरहेको महानगरले जनाएको छ ।
महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागका प्रमुख नुरनिधि न्यौपानेका अनुसार बन्ध्याकरण अभियानको महानगरले नियमित अनुगमन गरिरहेको छ । पशु कल्याणको मापदण्ड पालना भए–नभएको विषयमा महानगर सचेत रहेको उनले प्रष्ट पारे ।
‘यस क्रममा अहिलेसम्म पशु पक्रने, बन्ध्याकरण गर्ने, त्यसपछि आराम गराउने र पूर्ववत स्थानमा पुनःस्थापित गराउने प्रक्रियामा पशु कल्याणलाई ध्यान दिइएको पाएका छौँ,’ न्यौपानेले भने, ‘प्रक्रियामा पशुहरूलाई कुनै पनि प्रकारको पीडा हुँदैन । कुकुरलाई बन्ध्याकरण गरिसकेपछि २४ घण्टा निगरानीमा राख्ने गरिएको छ ।’
कुन संस्थाले कति गरे बन्ध्याकरण ?
कृषि तथा पशुपंक्षी विभागकी पशु चिकित्सक डा. पूजा खनालका अनुसार साझेदार संस्थाहरूले विभिन्न वडाहरूमा बन्ध्याकरणको काम गरिरहेका छन् । तथ्यांकअनुसार काठमाडौं पशु उपचार केन्द्र (क्याट सेन्टर) ले वडा नं. १६ मा ५६४ र वडा नं. १५ मा ७८ वटा कुकुरको बन्ध्याकरण गरेको छ ।
यस्तै, एनिमल ट्रिटमेन्ट सेन्टर क्लिनिक (क्याट क्लिनिक) ले वडा नं. ११ मा ७४ र वडा नं. २८ मा १० वटा, मण्डला भेटिरिनरी अस्पतालले वडा नं. ६ मा १७८, वडा नं. १० मा १५८ र वडा नं. ३२ मा ३४४ वटा कुकुरको बन्ध्याकरण गरेका छन् ।
स्नेहाज केयरले वडा नं. १२ मा ६२, वडा नं. १३ मा १०१ र वडा नं. १४ मा १५६ वटा कुकुरको बन्ध्याकरण गरेको छ भने पशुपंक्षीप्रति निर्दयता रोकावट समाज, नेपाल (एसपिसिए नेपाल) ले वडा नं १ मा ६२, वडा नं. ३ मा १३६ र वडा नं. ४ मा १६० वटा गरी कुल २ हजार ८३ कुकुरको बन्ध्याकरण सम्पन्न भएको डा. खनालले जानकारी दिइन ।
बन्ध्याकरण अभियान सफल रूपमा अघि बढिरहँदा एउटा घटना पनि भएको छ । अपरेसनपछि निको भएर समुदायमा पुनःस्थापना गरिएको एउटा कुकुरको गाडीको ठक्करबाट मृत्यु भएको विभागले जनाएको छ । महानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरणका लागि छनोट भएका संघसंस्थाहरुसँग २०८२ कात्तिक १३ गते सम्झौता गरेको थियो । सम्झौता लगत्तै कात्तिक १४ गते कार्यादेश दिएर काम सुरु गरिएको महानगरले जनाएको छ ।








