विवाह पञ्चमी: धनुषयज्ञ विधि सम्पन्न

काठमाडौँ । जनकपुरधाममा जारी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत शनिवार धनुषयज्ञ विधि सम्पन्न भएको छ ।
त्रेता युगमा तत्कालीन मिथिलाका राजा शिरध्वज जनकको प्रतिज्ञाअनुसार भएको धनुष यज्ञको स्मरणमा प्रत्येक वर्ष विवाह उत्सव अन्तर्गत धनुष यज्ञको आयोजना गरिँदै आएको छ ।
धनुष यज्ञमा गुरु विश्वामित्रका साथमा अयोध्याका राजा दशरथका छोरा भगवान् राम, लक्ष्मण, भरत तथा शत्रुध्न सहित सहभागी भएर भगवान् रामले भगवान् शिवको पिनाक धनुषमा प्रत्यञ्चा चढाउँदा तीन टुकडा भएको थियो । त्यस पश्चात् मात्रै माता सीताको विवाह भगवान् रामसँग भएको वाल्मीकि रामायणमा उल्लेख छ ।
विवाहपञ्चमीको पहिलो दिन नगरदर्शन र दोस्रो दिन फूलबारी लिला सम्पन्न भइसकेको छ । चौथो दिन मंसिर ७ गते तिल्कोत्सव, मंसिर ८ गते मटकोर रहेको छ भने मंसिर ९ गते विवाहपञ्चमीको मुख्यदिन विवाह उत्सव रहेको छ । मंसिर १० गते रामकलेवा गरी सप्ताहव्यापी श्री सीताराम विवाहपञ्चमी महोत्सव समापन हुनेछ ।








