मिथिलाञ्चलमा विवाहपञ्चमी महोत्सव सुरु

काठमाडौँ । मिथिलाञ्चलको सबैभन्दा ठुलो उत्सव विवाहपञ्चमी महोत्सव सुरु भएको छ ।

बिहीबारबाट महोत्सव सुरु भएको हो । जनकपुरधाम क्षेत्रमा आज बिहानैदेखि श्रद्धालु भक्तजनहरूको चहल पहल देखिएको थियो ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन विधि सम्पन्न भएको छ । नगरदर्शनलाई लिएर जानकी मन्दिरमा पूजा आराधनाका लागि श्रद्धालु भक्तजनहरू पुगेका थिए । भगवान् राम र लक्ष्मण पहिलो पटक प्राचीन मिथिलाको राजधानी जनकपुरधामको भ्रमण गरेको स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगरदर्शन विधि गर्ने गरिन्छ ।

नगरदर्शन विधिमा राम लक्ष्मणको प्रतीकको रूपमा रहेको दुई बालकलाई नगरदर्शन गराइएको थियो । सोही अवसरमा मिथिलाको राजधानीमा मंगलगान समेत गाइएको थियो । नगर दर्शन विधिका लागि जनकपुरधाम स्थित जानकी मन्दिरकै प्राङ्गणमा कृत्रिम बजार बनाइएको थियो ।

सो बजारमा मुरही, कचरी, चिया, पान, मखान, खेलौना, मिठाई, मिथिला चित्रकला, कपडा, सिन्दुर, टिकली आदिका पसलहरू कृत्रिम रूपमा निर्माण गरिएका थिए । राम लक्ष्मणको प्रतीकको रूपमा रहेका दुई किशोर बालकलाई रातो कार्पेट ओछ्याएर कृत्रिम बजार घुमाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 11 =