नेताहरूलाई हिँडडुल र सभा–सम्मेलन गर्ने वातावरण बनाइयोस् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बाराको सिमरा क्षेत्रमा हिजोदेखि जारी तनाव र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण गरेका छन् ।
प्रचण्डले सबै पक्षलाई संयमित र जिम्मेवार आचरण अपनाउन अपिल गरेका छन् । ‘स्थितिलाई थप हिंसात्मक र नियन्त्रण बाहिर जान नदिन सबै पक्षलाई उच्च संयमता अपनाउन हार्दिक अनुरोध गर्दछु’ उनले भने ।
प्रचण्डले लोकतन्त्रमा राजनीतिक र वैचारिक मतभिन्नता स्वाभाविक भएको भए पनि, त्यसलाई हिंसा र उत्तेजनामा रूपान्तरण गर्नु लोकतान्त्रिक संस्कृति विपरीत भएको बताएका छन् ।
उनले सबै दल र नेताहरूलाई राजनीतिक तथा वाक–स्वतन्त्रताको सम्मान गर्दै निर्वाधरूपमा हिँडडुल र सभा–सम्मेलन गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन् ।
यसै गरी, प्रचण्डले आगामी निर्वाचनको शान्तिपूर्ण र निष्पक्षतामा कुनै पनि नकारात्मक प्रभाव नपार्नका लागि सबै पक्षलाई सचेत र जिम्मेवार बन्न आग्रह गरेका छन् । ‘घोषित निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन कुनै पनि घटनाले नकारात्मक प्रभाव नपारोस् भन्ने विषयमा सचेत र जिम्मेवार बन्न सबै पक्षसँग आग्रह गर्दछु,’ प्रचण्डले भने ।
अध्यक्ष प्रचण्डले स्थानीय पार्टी समितिहरूलाई घटनास्थलमा सहयोग र सहजीकरण गर्न निर्देशन दिएका छन् ।








