सात दलद्वारा मंसिर ३ गते मधेसमा प्रदेश सभा बैठक आह्वान

काठमाडौँ । मधेसको प्रदेश सभामा प्रतिनिधित्व गर्ने विपक्षी ७ राजनीतिक दलको गठबन्धनले मंसिर ३ गते प्रदेशसभा बैठक आह्वान गरेको छ ।

सभामुख रामचन्द्र मण्डलविरुद्ध पद अनुकूल आचरण नगरेको प्रस्ताव दर्ता रहेको समयमा विपक्षी दलका प्रदेशसभा सदस्यहरूको टोलीले उपसभामुखलाई भेटेर प्रदेश सभाको बैठकका आह्वान गर्न माग गरेका हुन् ।

विपक्षी दलहरूको तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता भरत साहले प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित उपसभामुख बबिता राउतसमक्ष प्रदेशसभा बैठक मंसिर ३ गते बुधवार आह्वान गर्न माग गरे ।

उनीसँगै जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक रामअशिष यादव, काँग्रेसका प्रदेशसभा सदस्य रामसरोज यादव, जनमत पार्टीको संसदीय दलको नेता महेश यादव सहितको उपस्थिति रहेको थियो ।

प्रदेशसभा सदस्य साहले २५ प्रतिशत प्रदेशसभा सदस्यले बैठक बोलाउन माग गरेर बैठक आह्वान गर्नुपर्ने प्रावधान रहेको र प्रदेशसभा बैठकबाटै सभामुखविरुद्धको प्रस्तावमाथि छलफल प्रक्रिया अगाडी बढाउने उद्देश्यका साथ ३२ जना प्रदेशसभा सदस्यहरूले प्रदेशसभा बैठक आह्वान गर्न माग गरेको जानकारी दिए ।

उनले सभामुखमाथि दर्ता गरिएको प्रस्तावमाथि छलफल प्रक्रिया अगाडी बढाउनका लागि आफूहरूले प्रदेशसभा बैठक बोलाउन माग गरेको बताए ।

प्रदेशसभा बैठक आह्वान गर्ने माग मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू नेपाली काँग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा, नेकपा एकीकृत समाजवादी पार्टी, माओवादी केन्द्र रहेका छन् । तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले कात्तिक २२ गते विश्वास मत लिनका लागि बसेको प्रदेशसभा बैठक स्थगित भएदेखि अहिलेसम्म बस्न सकेको छैन । प्रदेशमा मुख्यमन्त्री नियुक्तिलाई लिएर उत्पन्न विवाद तथा सभामुखले ५ प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने निर्णय गरेपछि प्रदेशसभा बैठक प्रदेशसभा सचिवालयले डाकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eight =