सडक उपभोग दस्तुर सङ्कलन पुनः सुरु

रुपन्देही । नेपालमा रोकिएको सडक उपभोग दस्तुर सङ्कलन रुपन्देहीबाट पुनः सुरु भएको छ ।

सडक बोर्ड नेपालले यहाँ स्थित भैरहवा–भूमही सडकखण्डमा रहेको सङ्कलन केन्द्रबाट आजदेखि दस्तुर सङ्कलन सुरु गरेको हो ।

यसअघि ठेक्का लगाएर दस्तुर सङ्कलन गरिए पनि अहिले सडक बोर्ड नेपालले आफ्नै कर्मचारी व्यवस्थापन गरेर दस्तुर सङ्कलन गरिरहेको छ ।

सडक बोर्ड ऐन, २०५८ को दफा ‘६’ र ‘४’ को अधिनमा रही ‘सडक उपभोग दस्तुर उठाउने (कार्यविधि) नियमावली, २०८१’ बमोजिम दस्तुर सङ्कलन गरिएको बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीले जानकारी दिए ।

उनले अहिले भैरहवा–भूमहि सडकखण्डमा सुरु गरिए पनि अबको केही दिनमै अन्य तीन स्थानबाट पनि दस्तुर सङ्कलन सुरु गरिने बताए । ‘२०८१ जेठ १७ गतेको मन्त्रिपरिषद्कै निर्णयअनुसार टोल ट्याक्स उठाउने निर्णय भएको थियो, टोल ट्याक्स पनि डिजिटाइलज माध्यमबाट उठाउने कुरा हो । सोहीअनुसार भैरहवाबाट यसको सुरुआत गरेका छौँ’, केसीले भने, ‘यो सडकखण्ड छोटो रहेको र भन्सार विन्दु पनि रहेको हुँदा यहीँबाट सुरु गर्ने निर्णयमा पुगेका हौँ ।’

उनले भैरहवा भन्सारबाट निस्केका ओभरलोड गाडीहरूले सडक बिग्रेका कारण त्यसको अनुगमन पनि गर्ने र सो गाडीहरूले बिगारेको बाटो सङ्कलित करबाट मर्मत गरिने बताए ।

उनले भैरहवाबाट सुरु गरेको सडक दस्तुर सङ्कलन अब वीरगञ्ज–पथलैया, धरान विराटनगर र नारायणगढ–मुग्लिङ बाटोमा पनि सुरु गरिने बताए । यससँगै नागढुङ्गासडक खण्डमा पनि सवारी साधनबाट ‘रिड’ गर्न मिल्ने ‘आरएफआइडी’ प्रविधि जडान गरी दस्तुर सङ्कलन गरिने उनले जानकारी दिए ।

सङ्कलित रकमको कम्तीमा दुई तिहाइ रकम सोही सडकखण्डको मर्मत सम्भारमा उपयोग गरिने केसीको भनाइ छ ।

दस्तुर सङ्कलनलाई व्यवस्थित गर्न बैंकिङ प्रणाली विद्युतीय माध्यमबाट गरिएको र भुक्तानी नगदको साथै ‘क्युआर कोड’बाट पनि गर्न मिल्ने बनाइएको छ ।

भैरहवा–भूमही सडकखण्डमा बस, मिनिबस, ट्रक, मिनिट्रक र हेभी मेसिनरी इक्विपमेन्टको ३०, कार, जिप, पिकअप भ्यान र ट्र्याक्टरको २० र तिनपाङ्ग्रे तथा मोटरसाइकलको १० सडक उपभोग दस्तुर तोकिएको छ । यो सडकखण्डमा भने तिनपाङ्ग्रे तथा मोटरसाइकलको दस्तुर अहिले सङ्कलन नगरिएको कार्यकारी निर्देशक केसीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =