विद्यार्थी आन्दोलनमा दमन गर्ने शेख हसिनालाई मृत्युदण्डको फैसला

एजेन्सी । बाङ्लादेशमा विद्यार्थी आन्दोलन दमनका क्रममा मानवताविरोधी अपराध गरेको आरोपमा पूर्व प्रधानमन्त्री शेख हसिनालाई विशेष अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।
बाङ्लादेशको अन्तर्राष्ट्रिय फौजदारी ट्राइब्यूनल (आईसीटी)ले सोमबार सुनाएको ऐतिहासिक फैसलामा हसिनासँगै उनका तत्कालीन आन्तरिक मामिला मन्त्री असदुज्जमान खान कमल र प्रहरी प्रमुख चौधरी अबुल्लाह अल–मामुन पनि दोषी ठहर भएका छन् ।
न्यायाधीशको अध्यक्षतामा बसेको इजलासले उनीहरूविरुद्ध परेका सबै अभियोग र प्रहरी कारबाहीका क्रममा भएको हिंसाका विवरण अदालतमा सार्वजनिक रूपमा पढेर सुनायो ।
शेख हसिना सत्ताच्युत भइसकेपछि भारतमा बसेकी छन्, र उनी अनुपस्थितिमै मुद्दाको सुनुवाइ चलेको थियो। हसिनाले बीबीसीलाई पठाएको इमेलमा अदालतलाई राजनीतिक प्रतिद्वन्द्वीहरूको क्याङ्गरू कोर्ट भन्दै आरोप अस्वीकार गरेकी थिइन् ।
फैसला सुनिँदा अदालतको कक्षमा वकिल, मृतकका आफन्त र सञ्चारकर्मीहरूसहित करिब १ सयभन्दा बढी व्यक्ति उपस्थित थिए । अदालतभित्र तथा बाहिर मृत्युदण्डको फैसला स्वागत गर्नेहरूको हर्षोल्लास देखिन्थ्यो । बाहिरै एउटा सानो समूहले हसिनालाई फाँसीको नाराबाजी गरे पनि अदालतको मर्यादा कायम राख्न आग्रह गरिएपछि स्थिति शान्त बनेको थियो ।
गत वर्ष विद्यार्थीहरूको नेतृत्वमा सुरु भएको आन्दोलन तीव्र हुँदै जाँदा मुलुक उथलपुथलमा पुगेको थियो । संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार आन्दोलन तथा त्यसपछि भएको दमनका घटनामा कम्तीमा १,४०० जनाले ज्यान गुमाएका थिए ।
फैसला आउनुअघि नै धनमण्डीस्थित हसिनाका पिताको पुरानो निवास नजिक जम्मा भएका प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले स्टन ग्रिनेड प्रयोग गरेको थियो ।
यो फैसलासँगै बाङ्लादेशको राजनीतिक भविष्य थप अनिश्चित भएको विश्लेषकहरूको टिप्पणी छ ।








