सुजन कडरियाको राजीनामा स्वीकृत, धामी बने अनेरास्ववियुको नयाँ अध्यक्ष

काठमाडौं । नेकपा एमालेको अनेरास्ववियुले अध्यक्ष डा. सुजन कडरियाको राजीनामा औपचारिक रूपमा स्वीकृत गरेको छ ।
वर्तमान महासचिव दीपक धामीलाई नयाँ अध्यक्ष चयन गरेको छ । सोमबार बसेको संगठनका पदाधिकारीहरूको बैठकले धामीलाई अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको हो ।
गत भदौ २४ गते जेनजी आन्दोलनपछि कडरियाले अध्यक्ष पदबाट राजीनामा दिएका थिए । त्यतिबेला उनले पदमा फर्कने प्रयास गरे पनि संगठनभित्रै विवाद चर्किएको थियो ।
नयाँ नेतृत्व चयनसँगै संगठनले महासचिवमा उपाध्यक्ष अञ्जना सिवाकोटीलाई जिम्मेवारी दिएको छ ।
अध्यक्षबाट अलग भएपछि कडरियाले नवनिर्वाचित अध्यक्ष धामीलाई बधाई दिंदै फेसबुकमार्फत आफ्नो राजनीतिक यात्रा नयाँ मोडमा प्रवेश गरेको बताएका छन् ।
‘आज बसेको अनेरास्ववियूको बैठकले मेरो राजीनामा स्वीकृत गरिदिएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । विद्यार्थी आन्दोलनमा बिताएका तिता–मिठा क्षणहरू पनि औपचारिक रूपमा समाप्त भएका छन्,’ उनले लेखेका छन् ।
पार्टी जीवनमा पूर्ण समर्पणसाथ अघि बढ्ने प्रतिवद्धता जनाउँदै उनले आफू नेकपा एमालेको इमानदार सिपाहीका रूपमा निरन्तर खटिरहने उल्लेख गरेका छन् ।








