जेनजी युवाले झन्डाले सजाए झोलुंगे पुल, आलितालमा पर्यटन चहलपहल

डडेल्धुरा । जेनजी युवाहरुले डडेल्धुराको आलिताल गाउँपालिका–८ मौरी बजार नजिकको झोलुंगेमा विभिन्न रंगका झण्डाले सजाएका छन् ।

जेनजी युवाहरुको पुललाई झण्डाले सजाएपछि पुलमा नयाँ रुप बनेको छ । वडा नं. ८ र ३ लाई जोड्ने उक्त पुल आकर्षक सजावटका कारण अहिले पर्यटकको रोजाईमा पर्न थालेको छ ।

उक्त पुलमा अहिले दैनिक आवत–जावत गर्नेहरूदेखि घुम्न आउने सर्वसाधारणसम्म सबैलाई फरक अनुभव मिलिरहेको छ ।

हाल पुलमा फोटो र भिडियो खिच्न युवायुवतीहरूको भीड बढेको छ । यसले मौरी बजार क्षेत्रको चहलपहल र पर्यटनगत गतिविधि विस्तारमा सकारात्मक प्रभाव पारेको स्थानीयहरू बताउँछन् ।

आलिताल युवा समाजका संयोजक नविन बिष्टको पहलमा जेनजी युवाहरुले पुलको सजावट गरेका हुन् । झोलुंगे पुल क्षेत्र स्थानीय पहिचानको केन्द्रबिन्दु भएकाले यसको सौन्दर्य वृद्धि र पर्यटन प्रवद्र्धनका लागि झण्डा सजावट अभियान सञ्चालन गरिएको विष्टले बताए । ‘हाम्रो गाउँको सम्भावनालाई बाहिर ल्याउन यस्तो साना पहलले ठूलो भूमिका खेल्छ,’ उनले भने ।

स्थानीयवासीले युवाहरूको सक्रियता र सृजनशीलताप्रति प्रसंशा व्यक्त गरेका छन् । पुल र आसपासको क्षेत्रमा मानिसहरूको आवागमन बढेपछि स्थानीय व्यापार तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने उनीहरूको अपेक्षा छ ।

आलिताल गाउँपालिकाले पनि युवाहरूको प्रयासलाई स्वागत गर्दै झोलुंगे पुल क्षेत्रलाई थप आकर्षक र व्यवस्थित बनाउन योजनाबद्ध रूपमा काम अघि बढाइने जनाएको छ ।

जेनेजी युवाहरूको यो पहलले गाउँको पहिचान उजागर गर्नुका साथै आलितालको पर्यटन विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − six =