काँग्रेसमा नेतृत्व परिवर्तनको माग: महिला भेलाबाट विशेष महाधिवेशनको लागि दबाब

काठमाडौँ । नेपाली काँग्रेसमा नेतृत्व परिवर्तनको लागि पार्टीभित्र तीव्र रूपमा दबाब बढेको छ ।

विशेष महाधिवेशनको मागमा हस्ताक्षर गरेका महिलाहरूले बिहीबार काठमाडौँमा भेला आयोजना गरी विशेष महाधिवेशनको लागि दबाब दिएका हुन् । महिला भेलामा सहभागी नेतृहरूले समयमा नियमित अधिवेशन हुन नसके विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने बताएका छन् ।

महिला नेतृ चन्दा जोशीले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेतृत्व परिवर्तन गरेर जनतासँग जानुपर्ने बताए । उनले नियमित महाधिवेशन गर्न सम्भव नभए विशेष महाधिवेशन गर्नुपर्ने धारणा राखिन् । देशभरका करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर पार्टीमा दर्ता भएको जानकारी दिर्दै उनले पुस मसान्तभित्र विशेष महाधिवेशन गरेर भएपनि फागुनमा हुने आम निर्वाचनअघि नयाँ नेतृत्वमा पार्टी अघि बढ्नुपर्नेमा जोड दिइन् ।

उनले भनिन् ‘समयमा नै नियमित अधिवेशन गर्न नसकिने हो भने देशभरिका करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर दर्ता भइसकेको छ । यो पुस मसान्तभित्र विशेष महाधिवेशन गरेर भएपनि फागुनमा हुन गएको आम निर्वाचन अगाडी नै नेतृत्व परिवर्तन गरेर जानुपर्छ । हामीले हाम्रो केन्द्रीय समितिमा एकमतका साथ यो महिला भेलाबाट उहाँहरूलाई अनुरोध गर्न चाहन्छौँ, केन्द्रीय समितिको बैठक लगत्तै यही मंसिरभित्र महामन्त्रीले पेस गर्नुभएको कार्यतालिकाअनुसार नियमित महाधिवेशन होस् । यदि नियमित अधिवेशन गर्ने अवस्था छैन भने पार्टीको विधानमा भएको व्यवस्थाअनुसार वर्तमान परिवेशलाई बुझेर विशेष महाधिवेशनमार्फत भएपनि यो नेतृत्व परिवर्तन हुनुपर्छ ।’

काँग्रेस नेतृ कुशुमदेवी थापामगरले पार्टी नेतृत्वले सत्ता सञ्चालनका क्रममा जनताको समस्या सम्बोधन गर्न नसकेको आरोप लगाइन् । वर्तमान नेतृत्वको कारण नै जेन–जी आन्दोलन भोग्नुपरेको उनको भनाई छ । उनले विशेष महाधिवेशन गरी नेतृत्व परिवर्तन गरेर निर्वाचनमा नगएमा पार्टी थप संकटमा पर्ने दाबी गरिन् ।

उनले विशेष महाधिवेशन पक्षधरहरूसँग पार्टी नेतृत्वले हालसम्म समन्वय नगरेको पनि जानकारी दिए । उनले पार्टीको विशेष महाविशेषलाई दबाब दिनको लागि महिला भेला आयोजना गरिएको बताए ।

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेहरूमध्ये ६० प्रतिशत महिला रहेको उनको दाबी छ । उनले पार्टीलाई सशक्तीकरण गर्नको लागी महिलाको जागरूकता आवश्यक रहेको समेत बताए ।

उनले भने ‘हाम्रो यही नेतृत्वले सत्ता चलायो । त्यो सत्ता चलाउँदै गर्दा पार्टीका कार्यकर्ता र आम जनताहरूको समस्याहरूलाई सम्बोधन गर्न नसकेको कारणले गर्दा जेनजीको नाममा आन्दोलन भयो । त्यही कारणले फागुन २१ गते हुने निर्वाचनको घोषणा भएको छ । त्यो निर्वाचनमा नेपाली काँग्रेसको यही नेतृत्व लिएर गयो भने पार्टी झनै संकटमा पर्ने अवस्थाका कारण नेतृत्व परिवर्तनको लागी हामीले विशेष महाधिवेशनको माग राखेर ५५ प्रतिशत हस्ताक्षर लिखित रूपमा संकलन गरेर पार्टीका दर्ज गरेका छौँ ।’

नेपाल विद्यार्थी संघ ९नेविसंघ०की पूर्व केन्द्रीय सदस्य एलिजा ढकालले पार्टीले विगतका गल्तीहरूको निर्मम आत्मसमिक्षा गर्नुपर्ने बताए । काँग्रेसले जनतामाझ सुध्रिएको सन्देश लिएर जानुपर्ने उनको भनाई छ । उनले पार्टी नेतृत्व भ्रष्टाचार, भागबण्डा र संस्थागत कमजोरीले कलंकित भएको आरोप लगाउँदै त्यसलाई सुधार्नको लागी विशेष महाधिवेशन अपरिहार्य रहेको बताइन् ।

उनले भनिन् ‘हामीले कहाँनेर गल्ती ग¥यौँ भनेर निर्मम समीक्षा गर्नुपर्छ कि पर्दैन । काँग्रेस जनतको बीचमा जाँदा सुध्रिएको म्यासेज लिएर जानुपर्छ कि पर्दैन । काँग्रेस सुध्रिएको म्यासेज लिएर जनतामाझ जानुपर्छ भन्दै गर्दा काँग्रेसले के बिगारेको थियो भन्ने प्रश्न पनि उठ्न सक्छ । काँग्रेसले धेरै कुरा बिगारेको थियो । हरेक ठाउँमा, हरेक संस्थामा हुने भागबन्डामा हिस्सेदारी गरेको थियो, भ्रष्टाचारमा मुछिएको थियो । जनतामा हाम्रा नेताहरूको नाम कलंकित भएको थियो । हामीले विगतमा धेरै गल्तीहरू गरेका थियौँ । त्यसैले हामीले आफ्नो गल्तीको समीक्षा गर्दे जनतामा सुध्रिएर गएको सन्देश दिनको लागी विशेष महाधिवेशन अपरिहार्य छ ।’

पद्मकन्या क्याम्पसकी स्ववियु सभापति भूपी ऐरले नेपाली काँग्रेसले समयमा नै महाधिवेशन गरेर महिला र युवालाई पार्टीमा सहभागिता गराउनुपर्ने बताइन् । यो ।

नेपाली काँग्रेसमा महाधिवेशनको विषयमा लिएर विवाद उत्पन्न भएको छ । काँग्रेसको संस्थापन पक्ष निर्वाचनपछि नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा छ भने संस्थापनईतर पक्ष निर्वाचन अगाडी नै नियमित महाधिवेशन या विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =