फागुन २१ मा निर्वाचन गर्नुको विकल्प छैन: सुदन किराँती

काठमाडौँ । पूर्वमन्त्री जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानले फागुन २१ मा निर्वाचन गर्नुको विकल्प नरहेको बताएको छ ।
बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अभियानले फागुन २१ मा निर्वाचन गर्नुको विकल्प नरहेको बताएको हो । पत्रकार सम्मेलनका क्रममा बोल्दै पूर्वमन्त्री सुदन किराँतीले फागुन २१ मा कुनैपनि हालतमा निर्वाचन हुनुपर्ने बताए ।
नेपालको संविधान यतिबेला ट्रयाक भन्दा बाहिर रहेको भन्दै ट्रयाकमा फर्काउन निर्वाचनको विकल्प नभएको बताए । लोकतन्त्रमा निर्वाचन बाहेक अर्को उपाय हुन नसक्ने उनको भनाइ छ । आगामी निर्वाचनबाट विगत ३५ वर्ष यता सत्तामा रहेका अनुहारलाई विस्थापन गर्नुपर्ने जरुरी रहेको बताए ।
उनले भने ‘फागुन २१ गते कुनैपनि हालतमा निर्वाचन हुनैपर्छ । नेपालको संविधान यतिबेला ट्रयाक भन्दा बाहिर छ । त्यसलाई हामीले ट्रयाकमा फर्काउनैपर्छ । लोकतन्त्रमा निर्वाचन बाहेक अर्को उपाय हुनै सक्दैन । त्यो निर्वाचनमा एउटै अनुहार विगत ३५ वर्षदेखि एउटै अनुहार म्युजिकल चियरको रूपमा गेम खेलिरहेका अनुहारलाई नेपाली जनतासँग एकताबद्ध भएर बिदा गर्नेछौँ । ’
किराँतीले नेपालमा असमानता, गरिबीको अन्त्य गर्न चाहनेहरूसँग एकता हुने बताए । नेपाली कम्युनिस्ट पार्टीसँग कुनै एकता नहुने उनको दाबी छ । आजको आवश्यकता रूपान्तरण र पुस्तान्तरणको भएको बताए । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले समाजवाद, शहीद लगायतको नाममा आफ्नो स्वार्थपूर्ति गर्ने काम गर्नुभएको आरोप लगाए ।








