गृह मन्त्रालयमा दुर्गा प्रसाईँ समूहसँग मन्त्रीस्तरीय वार्ता, दुर्गामाथि बढाइयो निगरानी

काठमाडौं । सरकार र विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘नागरिक बचाउ महाअभियान’ बीच गृह मन्त्रालयमा महत्वपूर्ण वार्ता हुँदैछ । प्रसाईं समूहले मंसिर ७ गतेबाट देशव्यापी आन्दोलनको घोषणा गरिरहेका बेला हुन लागेको हो ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार वार्ताको तयारी पूरा भइसकेको छ । यद्यपि, प्रसाईं भने आजको मन्त्रीस्तरीय वार्तामा सहभागी हुने छैनन् । उनको समूहबाट माधव प्रसाद खतिवडा, देवी प्रसाद संग्रौला, प्रेमकुमार थाम्सुहाङ, प्रेम थापामगर, तिजेन्द्र प्रसाद रायमाझी र मकबुल साह लगायतका प्रतिनिधिहरू सहभागी हुनेछन् । समूहका नेता खतिवडाले भने, ‘हामी मन्त्रीस्तरीय वार्तामा सहभागी हुन गृह मन्त्रालय जाँदैछौं । प्रधानमन्त्रीस्तरीय वार्तामा दुर्गा दाइ बस्नुहुन्छ ।’
यसअघि सरकारले कात्तिक १८ गते नै प्रसाईंको समूहलाई वार्ताका लागि पत्राचार गरेको थियो । अधिवक्ताद्वय लवन न्यौपाने र विनोदमणि भट्टराईले वार्ता सहजीकरणको भूमिका निर्वाह गरिरहेका छन् ।
प्रसाईं समूहले मंसिर ७ गतेबाट देशव्यापी आन्दोलनको घोषणा गरेको छ । यसअघि गत चैत १५ गते प्रसाईंको नेतृत्वमा तीनकुनेमा भएको आन्दोलन हिंसात्मक मोडमा पुगेको थियो, जहाँ तोडफोड, आगजनी र लुटपाट समेतका घटनाहरू भएका थिए । यसपटक प्रसाईंले आन्दोलनका लागि नेपाली कांग्रेस बीपीसँग सहकार्य गरेका छन् ।
आन्दोलनको तयारीका क्रममा उनले कात्तिक २३ गते काठमाडौंको सुकुमवासी बस्तीमा आयोजित कार्यक्रममा उत्तेजक अभिव्यक्ति दिएको सुरक्षा अधिकारीहरू बताउँछन् । आन्दोलन फेरि हिंसात्मक बन्न सक्ने आशंकामा सुरक्षा निकायले प्रसाईं र उनको समूहका गतिविधिमाथि निगरानी बढाएको छ ।








