जनताको पक्षमा इमानदार भएर काम गर्दा भाग्नुपर्ने स्थिति आउँदैन : डा. सुनिल शर्मा

मोरङ । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले मोरङको पथरीशनिश्चरे नगरपालिका-३ स्थित गोहीहोली खोलामा निर्माणाधीन पुलको शिलान्यास गरेका छन् । करिब ३० वर्षदेखि स्थानीयको मुख्य आवश्यकता रहेको यो पुलको शिलान्यास गर्दै शर्माले जनताको पक्षमा इमान्दार भएर काम गर्ने नेताले कहिल्यै भाग्नुपर्ने वा जनताबाट डराउनुपर्ने अवस्था नआउने बताए ।

शिलान्यास समारोहमा स्थानीयले नौमती बाजा, सांस्कृतिक झाँकी र फूलमालासहित शर्माको भव्य स्वागत गरेका थिए । उनले जनताको पक्षमा काम गर्दा खादा, माला, प्रेम, सहानुभूति र सद्भाव पाइने उल्लेख गर्दै कसैले पनि जल्नुपर्ने वा जनताबाट डराउनुपर्ने स्थिति नआउने बताए । उनले भने, ‘जनताको पक्षमा इमान्दार भएर काम गर्ने हो भने यसरी माला, खादा, तपाईंहरूको प्रेम, सहानुभूति, सद्भाव पाइँदो रहेछ नि । भाग्नुपर्ने, जल्नुपर्ने, जनताबाट डराउनुपर्ने स्थिति वा जनतासँग भेट्न जाँदा प्रहरी वा सेना राखेर जानुपर्ने स्थिति नहुँदो रहेछ ।’

डा. शर्माले मोरङको क्षेत्र नम्बर ३ लाई देशका १६५ वटा निर्वाचन क्षेत्रमध्ये रोलमोडल क्षेत्र भएको दाबी गरे । उनले यो क्षेत्र कुनै दिन अमेरिकन, ब्रिटिश, युरोपियन र भारतीय अध्ययनकर्ताहरूको अनुसन्धानको केन्द्र बन्न सक्ने विश्वास व्यक्त गरे । उनले भने, ‘मुलुकको १६५ क्षेत्रमा मोरङको क्षेत्र नम्बर ३ रोलमोडल क्षेत्र हो । कुनै दिन यस्तो दिन पनि आउन सक्छ । अमेरिकन, ब्रिटिश, युरोपियन, भारतीय रिसर्चरहरूले किन यो क्षेत्रका जनताले छानिछानि विवेक प्रयोग गरेर किन राम्रा मान्छेलाई भोट हाल्दा रहेछन् भनेर अनुसन्धानको विषय बन्न सक्छ ।’

पिपलचोकलाई किरातीचोकसँग जोड्ने यो पुल ७ करोड ८३ लाख ७५ हजार रुपैयाँको लागतमा निर्माण हुन लागेको हो । गोहीहोली खोलामा पुल नहुँदा वर्षायाममा आवतजावत जोखिमपूर्ण हुनुका साथै स्वास्थ्य उपचार, शिक्षा, व्यापार–व्यवसाय र दैनिक क्रियाकलापमा समेत बाधा पुग्ने गरेको स्थानीयले बताए । पुल निर्माणपछि हजारौं जनताको दैनिक आवतजावत सहज हुने, कृषिजन्य वस्तुको बजार पहुँच बढ्ने र स्थानीय व्यापारिक गतिविधिमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममा प्रदेशसभा सदस्य गीता तिम्सिना, प्रदेश सांसद मानवबहादुर लिम्बू, पथरीशनिश्चरे नगरपालिकाका मेयर मोहन तुम्वापो, उपमेयर, वडाध्यक्ष तथा अन्य स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

डा. शर्मा पछिल्ला वर्षहरूमा निःशुल्क स्वास्थ्य सेवा, आकस्मिक उपचार सहयोग र सामाजिक उत्तरदायित्वमूलक गतिविधिका कारण मोरङ क्षेत्र नं ३ मात्र होइन, देशभर नै लोकप्रिय युवा नेताका रूपमा चिनिन्छन् । राजनीतिमा जनविश्वास घट्दै गएको समयमा भ्रष्टाचारविरुद्धको उनको स्पष्ट आवाज, व्यवहारिक नेतृत्वशैली र सेवा–धर्ममा आधारित कार्यशैलीले शर्माप्रति स्थानीयको भरोसा झनै गहिरिँदै गएको सर्वसाधारणले बताए ।

यस अवसरमा डा. शर्माले स्थानीय बासिन्दासँगको अन्तरक्रियामा पुल निर्माणले ल्याउने सकारात्मक परिवर्तनहरूबारे प्रकाश पारे । उनले यस परियोजनालाई समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्नका लागि सबै सरोकारवाला निकायहरूसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =