षडानन्दमा ‘एक घर एक धारा’ को पहुँच

भोजपुर । भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकामा सञ्चालित लोमा खोला खानेपानी आयोजनामार्फत करिब एक हजार २०० घरमा धारा जडान गरिएको छ ।

क्रमागत रुपमा सञ्चालन भइरहेको यो आयोजनामार्फत पानीको समस्या रहेका घरमा धारा जडान गरिएको हो । हालसम्म यहाँका करिब एक एक हजार ५०० परिवारमध्ये एक एक हजार २०० घरमा धारा जडान गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष राजनविक्रम राईले बताए ।

बाँकी रहेका घरमा पनि क्रमशः पानी वितरण गरिने उनले जानकारी दिए । “लोमा खोला आयोजनामार्फत १२ सय परिवारमा धारा जडान सम्पन्न गरेका छौँ”, अध्यक्ष राईले भने “बाँकी रहेका घरमा पनि क्रमशः वितरण गर्ने लक्ष्य छ ।”

पानी शुद्धीकरण पर्ने प्रविधि जडान नगरिएकाले पानी वितरणमा केही समस्या भएको उनको भनाइ छ । मुहानमा पानी प्रशोधन संरचना नरहेकाले बर्सातको समयमा बालुवा, गिट्टी आउने तथा धारा जाम हुने समस्या रहेको अध्यक्ष राईले बताए ।

बस्तीमा पानी वितरण थालिएपछि वर्षौंदेखीको पानीको समस्या हटेको स्थानीयवासी छत्रमाया कार्कीले बताए । लोमा खोलाको पानी घरमा आएपछि दैनिक काममा सहजता भएको उनको भनाइ छ ।“घरमा धारा जडान भएपछि सहजता छ”, उनले भने, “एक गाग्री पानीको जोह गर्न दुईचार घण्टा लाग्थ्यो । अहिले आगनको डिलमा धारा छ । पानीको कुनै चिन्ता छैन ।”

बस्तीमा लोमा खोलाको पानी आएपछि दैनिकी नै फेरिएको स्थानीयवासी तिलबहादुर श्रेष्ठले बताए । पानी आएपछि गाईभैँसी खुवाउनदेखि दैनिक सरसफाइमा सहजता भएको उनले बताए । यो आयोजनाले षडानन्द नगरपालिकाका ८, ९, १०, ११ र १२ वडाका करिब एक हजार ५०० परिवारलाई राहत पुग्ने षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले बताए ।

आयोजनालाई चाँडो सम्पन्न गराउन नगरले सम्बन्धित निकायमा बजेट मागसँगै आवश्यक सहजीकरण गरिरहेको उनको भनाइ । “यो षडानन्द नगरपालिकामा सञ्चालनमा रहेको ठूलो योजना हो”, उनले भने, “यो आयोजनाबाट धेरै घर परिवारमा शुद्ध पिउने पानी पुग्दैछ । समयमा सम्पन्न गराउन हामीले पनि आवश्यक भूमिका खेलिरहेका छौँ ।”

यो आयोजना निर्माणको काम दुई ‘स्किम’मा सञ्चालन भइरहेको छ । हालसम्म आयोजनाको भौतिक प्रगति करिब ८० प्रतिशत रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका इन्जिनियर दीपक यादवले जानकारी दिए ।

श्रमदानसहित यो आयोजनाको अनुमानित कूल लागत रु २६ करोड ८२ लाख ३० हजार ८३५ रहेको कार्यालयले जनाएको छ । “लोमा खोला खानेपानी आयोजनाको करिब ८० प्रतिशत काम सम्पन्न भएको छ”, उनले भने, “कामलाई तीव्र रुपमा अघि बढाएका छौँ । अब करिव २८५ घरधुरीमा पानी वितरण र शुद्धस्करण संयन्त्र बनाउन बाँकी रहेको अवस्था छ ।”

चालु आर्थिक वर्षमा तीन वटा ट्याङ्की, चार वटा डिपिटी र तीन वटा वितरण च्याम्बर निर्माण गरिएको उनले जानकारी दिए । त्यस्तै दुई हजार १०० मिटर मुख्य पाएप लाइन र ३७ हजार मिटर वितरण लाइन विस्तार गरिएको कार्यालयले जनाएको छ ।

दुई स्किममा गरी यो आयोजनाको मुख्य पाइप लाइन विस्तार करिब ४७ किलोमिटर र वितरण लाइन करिब १५३ किलोमिटर रहेको कार्यालयले जनाएको छ । यो आयोजनाको काम आव २०७५/७६ बाट थालनी भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − four =