एमालेमा सबैलाई बस्न मिल्ने फराकिलो ठाउँ छ : केपी ओली

 

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेमा सबैलाई बस्न मिल्ने फराकिलो स्थान भएको बताएका छन् ।

एमालेद्वारा आज काठमाडौँमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान घोषणा’ कार्यक्रममा अध्यक्ष ओलीले जनताले सबैभन्दा बढी भोट लिएको फराकिलो स्थान भएको पार्टी भएको बताएका हुन् ।

“नेकपा एमाले सानो चित्त भएको, सानो दिल भएको हल्ला चलाइएको छ, देशका जनताले सबैभन्दा बढी भोट भएको, सबैभन्दा धेरै कार्यकर्ता भएको पार्टीलाई साँघुरो चित्त भएको भनिरहेका छन्”, उनले भने “यहाँ कोही पनि खाँदाखाँद गरेर बस्नुपर्ने छैन, फराकिलो ढङ्गले मज्जाले बस्न पाइने स्पेस छ, नेकपा एमालेमा ।”

उनले वर्तमान सरकारलाई तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने कार्यभार दिएको भए पनि निर्वाचनभन्दा बाहिरको काममा बढी ध्यान दिएको बताए ।

अध्यक्ष ओलीले प्रत्येक घरघरमा एमालेका युवा रहेको उल्लेख गर्दै भने “एमाले देश बनाउने आशा र भरोसाको केन्द्र हो, फेसबुकको युवा होइन, घरघरको युवा एमालेसँग छ ।”

आज एमाले पुनःप्रवेश गरेकी नेत्री रामकुमारी झाँक्रीले क्रान्तिकारी शक्तिहरू अब अलमल्ल गरेर बस्न नहुने उल्लेख गर्दै एमालेमा फर्किन आह्वान गरिन् । उनले सार्वभौमिकता, सार्वजनिक सम्पत्ति, नागरिक जीवनको रक्षाका लागि एमालेमा आउनुपर्नेमा जोड दिइन् ।

आजै एमालेमा प्रवेश गरेका किसान श्रेष्ठले चार वर्षअघि गरेको निर्णय गल्ती थियो भन्ने निष्कर्षका साथ कलम पार्टीलाई बिर्सजन गर्दै एमालेमा प्रवेश गरेको बताए ।

उनले आदर्श, दृष्टि र देशलाई आर्थिक तथा राजनीतिक अवस्थाबाट देशलाई निकास दिने सामथ्र्य एमालेसँगै रहेको बताए ।

“मुलुकको विकास, समृद्धि र सुशासनका लागि काम गर्ने एमाले नै हो”, नेता श्रेष्ठले भने, “एमाले र देशलाई समृद्ध गर्ने केवल चाहना छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 1 =