जेनजी आन्दोलनमा रोटी सेक्नेहरू एमालेका विरुद्धमा छन्: नेतृ झाँक्री

काठमाडौँ । नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले जेन—जी पुस्ताको आन्दोलनका नाममा स्वार्थ केन्द्रित काम भइरहेको बताएकी छन् ।
सोमवार घर फर्क राष्ट्रिय अभियान कार्यक्रममार्फत नेकपा एमालेमा समाहित हुँदै नेतृ झाँक्रीले यस्तो बताएकी हुन् ।
उनले जेन जी आन्दोलन एउटा पुस्ताको एउटा आक्रोश भएपनि त्यसमा रोटी सेक्नेहरू धेरै भएको बताइन् । अहिले जेन जी आन्दोलन भर्सेस नेकपा एमाले जस्तो भाष्य खडा गरिएको बताइन् ।
जेन जी आन्दोलनका स्टक होल्डरहरू नजानिँदो ढङ्गले आफूलाई दाबी गरेर स्वार्थ केन्द्रित काम गर्न थालेको बताइन् । जेन—जी आन्दोलनमा रोटी सेक्नेहरू एमालेविरुद्धमा खनिएको बताइन् ।
उनले भनिन् ‘जेन जी आन्दोलन एउटा पुस्ताको एउटा आक्रोश थियो । त्यो सामान्य कुरा थियो । त्यसमा रोटी सेक्नको लागि जुन जुन तत्त्वहरू सामेल भए, आज फर्केर हेर्दा जेन जी आन्दोलन भर्सेस नेकपा एमाले र त्यसको नेतृत्व उभियो समाजमा । जेन जी आन्दोलनका स्टक होल्डरहरू नजानिँदो ढङ्गले मान्छेहरूले आफूलाई दाबी गरिरहेका छन् । चाहे त्यो माओवादी तत्कालीन पार्टी होस्, नेपाली काँग्रेसको एउटा हिस्सा, राप्रपा होस्, रास्वपा होस् । अन्य प्रकारका स्वतन्त्र अभियान चलाउनेहरू हुन्, समाजमा हेरौँ । जेन जी आन्दोलनमा रोटी सेक्नेहरू आज नेकपा एमालेका विरुद्धमा छन् ।’
नेतृ झाँक्रीले समाज कहाँ जाँदै छ भनेर चिन्ता गर्नुपर्ने बताइन् । क्रान्तिकारी शक्तिहरू अब अल्मल गरेर बस्न नहुने भन्दै एमालेमा फर्किन आह्वान गरिन् । सार्वभौमिकता, सार्वजनिक सम्पत्ति, नागरिक जीवनको रक्षाका लागि नेकपा एमालेमा आउनुपर्ने बताइन् ।








