रास्वपाको अर्जुनदृष्टि- चुनावमा स्पष्ट बहुमतको सरकार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले परम्परागत राजनीतिक गठबन्धनको सीमा तोड्दै वैकल्पिक शक्तिहरूलाई एकताबद्ध गर्ने महात्वाकांक्षी प्रस्ताव अघि सारेको छ । चितवनको सौराहामा सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा साझा एजेन्डा, स्वच्छ छवि र परिवर्तनको दृढ संकल्प बोकेका वैकल्पिक शक्तिहरूलाई सकेसम्म एउटै दलका रूपमा, नभए पनि एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा होमिने रणनीतिको खाका प्रस्तुत गरिएको छ ।

अर्यालको प्रतिवेदनमा भनिएको छ, ‘यो एकता केवल चुनावी रणनीतिका लागि मात्र नभई, देशमा साँच्चिकै परिवर्तन ल्याउन पनि आधारभूत सर्त हो ।’ उनले पुराना दलहरूको शासकीय अक्षमतालाई रोक्न एक सशक्त र विश्वसनीय वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य रहेकोमा जोड दिए । यसका लागि देशको विकास, सुशासन र परिवर्तनका लागि प्रतिबद्ध नयाँ दल, समूह र स्वतन्त्र व्यक्तिहरू एक ठाउँमा आउनु अनिवार्य रहेको प्रतिवेदनमा उल्लेख छ । ‘सानातिना स्वार्थ र अहम त्यागेर बृहत् सहकार्यको भावनाका साथ अघि बढे मात्र जनताले एउटा भरपर्दो विकल्प पाउने छन्,’ प्रतिवेदनमा भनिएको छ ।

चुनावमा अर्जुनदृष्टि- स्पष्ट बहुमतको सरकार
प्रतिवेदनको ‘चुनावमा अर्जुनदृष्टि: स्पष्ट बहुमतको सरकार’ उपशीर्षकले रास्वपा चुनावअघि नै दलहरूसँग सहकार्यको तयारीमा रहेको चर्चा चुलिएको छ । विगतमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमाले लगायतका दलहरूले चुनावअघि गरेका गठबन्धनको चर्को आलोचना गर्दै आएको रास्वपा आफैं यस बाटोमा हिँड्न लागेको भन्दै आलोचना पनि सुरु भएको छ ।

तर, कार्यवाहक सभापति अर्यालले रास्वपाले चुनावअघि गठबन्धनको नीति नलिएको स्पष्ट पारेका छन् । उनले रास्वपा जनविश्वास, संसदीय अनुभव, प्रभावकारी एजेन्डा, गतिशील र स्वीकार्य नेतृत्व एवं सांगठनिक आधारका दृष्टिले वैकल्पिक राजनीतिक दल, शक्ति, समूह र व्यक्तिहरूको केन्द्र बन्न सक्नेमा विश्वस्त रहेको बताए ।

‘वैकल्पिक राजनीतिक दलमध्ये जनअनुमोदनका दृष्टिले सबैभन्दा ठूलो हुनुको नाताले पनि परिवर्तनकारी दल, संगठन, समूह वा व्यक्तिलाई एकीकृत गर्ने जिम्मेवारी रास्वपाको हो,’ अर्यालले भने, ‘रास्वपाले समान विचार र कार्यशैली भएकाहरूसँग हातेमालो गर्नुपर्छ र उनीहरूसँग सहकार्यको आधार र विश्वासको वातावरण पनि बनाउनुपर्छ । व्यक्तिगत अहम र सानातिना मतभेद छाडेर, बृहत् राष्ट्रिय हित र परिवर्तनको एजेन्डामा आधारित भई एकता, मोर्चाबन्दी वा सहकार्यका लागि खुला हुनुपर्छ ।’

उनले स्पष्ट पार्दै भने, ‘बाहिर आएजस्तो कांग्रेस, माओवादी, राप्रपाहरूसँग गठबन्धन गरेर चुनावमा जाँदैछ भन्ने हल्लामा सत्यता छैन । यो हुनै सक्दैन । कदापि हुँदैन । सबैको चाहना नयाँहरू तितरबितर हुनु हुँदैन भन्ने छ । तितरबितर भयो भने फेरि जनताले देख्नै नचाहेका पुरानै आउँछन् भन्ने चिन्ता सबैतिर छ । कमसेकम नयाँ दलहरू कार्यगत एकता गरेर निर्वाचनमा जान सके भने राम्रो हुन्छ भन्ने हाम्रो कुरा हो ।’

अर्यालले ‘गठबन्धन’ शब्द नै खराब मान्छेहरूको स्वार्थका कारण बदनाम भएको तर्क गरे । रास्वपाले विगतका राजनीतिक दलहरूले बनाएजस्तो बदनाम गठबन्धन बनाउने तयारी नगरेको उनको जिकिर थियो । ‘संसदमा १२५ वटा दल दर्ता भएका छन् । अझै थपिँदै छन् । हामीले नयाँलाई सकेसम्म दल नखोल्नुस्, मिलौं भनेका छौं । दल दर्ता भइहालेको अवस्थामा बदनाम नभएका दलका राम्रा उम्मेदवारलाई सहयोग गर्न सकिन्छ भनेको हो । एक्लै लड्दा हामीले पनि नजित्ने, अर्को राम्रो उम्मेदवारले पनि नजित्ने, पुरानै बदनाम मान्छेले जित्ने अवस्था आयो भने त्यस्तो ठाउँमा कार्यगत एकता गर्न सकिन्छ भन्ने हाम्रो कुरा हो,’ अर्यालले भने ।

मिश्रित सुझाव र भावी रणनीति
बैठकमा केही प्रतिनिधिले कतिपय दलको नामै उल्लेख गरेर उनीहरूसँग गठबन्धन, कार्यगत एकता केही गर्न नहुने स्पष्ट रूपमा भन्नुपर्ने कुरा उठाएका थिए । कतिपयले सरकार बनाउने बेला मात्रै गठबन्धन गर्नुपर्ने सुझाव पनि राखे । अर्यालले भने, ‘हामीले प्रस्ताव बाहिर ल्यायौं । सुझावहरू मिश्रित आएका छन् । अब त्यसमा देशभर बहस हुन्छ । विश्लेषकहरूका कुरा पनि आऊलान् । जनताको कुरा पनि आउँछ । त्यसपछि हामी केन्द्रीय समितिको बैठकमा समीक्षा गर्छौं । हामी हाम्रो मूल्य मान्यताबाट विचलित छैनौं । तपाईंले सोधेजस्तो गठबन्धन हुँदैन ।’

अर्यालको प्रतिवेदनमा सम्भव भएसँग एकता गर्ने, नभएसँग मोर्चाबन्दी र त्यो पनि नभएसँग सीमित मुद्दामा तत्कालीन सहकार्य गर्ने नीति अबलम्बन गर्नुपर्ने उल्लेख छ । यसले वैकल्पिक शक्ति निर्माणको आधार बनाउँदै लैजाने विश्वास अर्यालले प्रतिवेदनमा व्यक्त गरेका छन् । उनले बहुमतको सरकारले कुनै पनि बाहिरी दबाब वा गठबन्धनका साझेदारहरूको स्वार्थमा सम्झौता नगरी जनताको हितमा काम गर्न सक्ने, बलियो जनादेश प्राप्त सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न थप दृढताका साथ अगाडि बढ्न सक्ने पनि उल्लेख गरेका छन् ।

प्रतिवेदनमाथि केन्द्रीय सदस्य तोसिमा कार्कीले विचार मिल्न सक्ने राजनीतिक पार्टीहरूसँग ‘घण्टी’ चुनाव चिह्न साझा रहनेगरी एकता गर्नुपर्ने, रास्वपाले उच्चतम उदार चरित्र देखाउँदै ठूला, साना पार्टीहरूलाई एकता प्रक्रियामा स्वागत गर्नुपर्ने सुझाव दिएकी थिइन् । उनले अन्य राजनीतिक दल, विचार समूह तथा स्वतन्त्र व्यक्तिसँग समेत वार्ता गरी जेनजी आन्दोलनको आकांक्षा बमोजिम परिवर्तन संस्थागत गर्न सक्ने मध्यमार्गी राजनीतिक शक्तिको निर्माण गर्न अग्रसर हुन पार्टी नेतृत्वलाई आग्रह गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fourteen =