रास्वपाको विस्तारित बैठक सुरु (तस्बिरहरू)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बृहत विस्तारित बैठक चितवनको सौराहामा सुरु भएको छ । शुक्रबार बिहानबाट सुरु भएको यस बैठकमा देशभरबाट पाँच सयभन्दा बढी प्रतिनिधिहरूले सहभागिता जनाउने रास्वपाले जनाएको छ ।
बैठकको पहिलो दिन पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गरे । सो प्रतिवेदनमाथि विस्तृत छलफल हुने बताइएको छ । यसैगरी, उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी निर्वाचनलाई लक्षित गरी तयार पारिएको वाचापत्रको मस्यौदा पेश गरे । उनले प्रस्तुत गरेको मस्यौदामाथि पनि गहन छलफल हुनेछ ।
बैठकमा सातै प्रदेशका सभापतिहरूले आ-आफ्नो प्रदेशभित्रका जिल्लाहरूमा पार्टी संगठनको वर्तमान अवस्था र भावी रणनीतिका बारेमा ब्रिफिङ गर्ने कार्यक्रम रहेको छ । यो विस्तारित बैठकले पार्टीको आगामी दिशा र कार्ययोजना तय गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।










