कार्की सरकार गठनका पछाडि गम्भीर षड्यन्त्र छ : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्दले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने टिप्पणी गरेका छन् ।
बिहीवार काठमाडौंको भृकुटीमण्डपमा पार्टीद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै महासचिव चन्दले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार रहस्यमय तरिकाले गठन गरिएको बताए ।
उनले सरकार गठनका पछाडि षड्यन्त्र लुकेको पनि टिप्पणी गरे । उनले जेनजी विद्रोहले नेपालमा संसदीय व्यवस्था पूर्णतः असफल भएको पुष्टि गरेको पनि जिकिर गरे ।
उनले संसद विघटन भइसकेपछि कुशासन र भ्रष्टाचारमार्फत देश लुट्ने समूहहरु सक्रिय रहेको उल्लेख गर्दै जनताले प्रतिवाद गर्न तयार हुनुपर्ने बताए ।
महासचिव चन्दले संविधान संशोधन र पुनर्लेखनको आवश्यकता रहेको उल्लेख गर्दै राज्यको पुनःरचना जनताको हितअनुसार हुनुपर्नेमा जोड दिए ।
प्रशासनिक सुधार, विश्वविद्यालयस्तरबाट दक्ष प्रशासनिक जनशक्ति तयार पार्नुपर्ने र नेताहरूको सम्पती आर्जनको स्रोत छानबिन गर्नुपर्ने पनि उनको माग छ ।
उनले जेनजी आन्दोदनका मागहरुप्रति राजनीतिक दलहरूले गम्भीर नभए देश फेरि अस्थिरतामा फस्न सक्ने चेतावनी समेत दिए ।








