जेनजी आन्दोलनले निम्त्यायो राहदानी संकट (भिडिओ)
महानिर्देशक अर्याल भन्छन्- 'आत्तिनु पर्दैन, भीड एक-दुई हप्तामै घट्छ'

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागमा यतिबेला राहदानी बनाउनेको घुइँचो लागेको छ । जेन-जी आन्दोलन र दसैँ-तिहारको प्रभावका कारण विभागलाई सेवाग्राहीको चाप व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले आन्दोलनका क्रममा केही राहदानी जलेको र उपकरणमा क्षति पुग्दा सेवा अवरुद्ध भएको तथा दसैँ-तिहार मनाउन विदेशबाट आएकाहरूले नेपालबाटै राहदानी बनाएर फर्कन खोज्दा भीड बढेको बताए ।
उनका अनुसार विभागसँग हाल १ लाख ७९ हजार राहदानी स्टकमा छन् । मासिक रूपमा ९० हजारदेखि १ लाखसम्म राहदानीको माग हुने गरेको छ । यसरी हेर्दा अझै २ महिनालाई राहदानी पर्याप्त हुनेछ । ४ महिनापछि नयाँ कम्पनीले सम्झौताअनुसार राहदानी व्यवस्थापन गर्नेछ । अहिले राहदानी पुस्तिका कम वितरण गर्नुको कारण बीचमा पुस्तिका अभाव नहोस् भन्ने रहेको उनको भनाइ छ ।
अर्यालका अनुसार अहिले दैनिक झन्डै ४ हजार ५ सयदेखि ५ हजारको हाराहारीमा राहदानीको माग छ । विभागले सामान्यतः दैनिक १ हजार २ सय राहदानी वितरण गर्दै आएको छ । अहिले दैनिक १ हजार राहदानी सामान्य प्रक्रियाबाट दिइएको छ भने जरुरी पर्ने २-३ सय जनालाई पनि विभागले राहदानी दिने गरेको छ । नियोग, जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयहरूबाट थप राहदानी वितरण भइरहेको छ । अहिले दैनिक २ हजारदेखि २ हजार ५ सयको हाराहारीमा राहदानी उत्पादन भइरहेको छ । त्यसमध्ये १ हजारदेखि १ हजार २ सय विभागबाट वितरण भएको छ भने बाँकी जिल्ला प्रशासनसहितका कार्यालय र विदेशस्थित नियोगबाट वितरण भइरहेको अर्यालले न्युज एजेन्सी नेपाललाई जानकारी दिए ।
महानिर्देशक अर्यालले भने, ‘मुख्य तीन कारणले राहदानी बनाउनेको भीड देखियो । एउटा जेन-जी आन्दोलनका कारण पासपोर्ट र केही उपकरणहरू जले । त्यसले गर्दा जिल्लाबाट राहदानी वितरणमा केही समस्या भयो । जिल्लामा राहदानी वितरणमा ढिलाइ हुन थालेपछि सबै मान्छेहरू विभागमा आएका कारण भीडभाड देखिएको हो । दोस्रो कारण जेन-जी आन्दोलनका कारण सेवा अवरुद्ध हुन पुग्यो र दसैँ-तिहारका कारण सेवा अवरुद्ध भयो । त्यसमा पनि दसैँ-तिहारका लागि जति पनि विदेशबाट नेपालीहरू आएका थिए, ती नेपालीहरूले धेरैजसोले नेपालबाट पासपोर्ट बनाएर जान खोजेपछि चाप बढेको हो । अर्को कारण राहदानीका लागि पुरानो सम्झौता सकिँदैछ । यो संक्रमणकालीन अवस्था हो । नयाँ सम्झौताअनुसार आपूर्ति हुनका लागि अहिलेको तालिकाअनुसार फागुन ११ बाट राहदानी जारी शुरू हुन्छ । त्यो अवधिभित्र अलिकति राहदानी पुस्तिकाको अभाव हुनसक्छ । अहिले राहदानी पुस्तिका सीमित छ । बीचमा वैकल्पिक व्यवस्था गरेर पूर्ति गर्ने भनेर लागिरहेका छौँ । सम्भवतः एक दुई हप्ताभित्र नतिजा पनि आउँछ । जरुरी पर्नेलाई तत्कालै दिन सकियोस् भनेर अहिले सेवा कटौती गरिएको हो । यो तीन कारणले अप्ठ्यारो परेको हो । भीड धेरै समय रहँदैन । छिट्टै नै यो समस्या समाधान हुन्छ ।’
६ हजार राहदानी जले
राहदानी विभागका अनुसार जेन-जी आन्दोलनमा ६ हजार राहदानी जलेर नष्ट भएका छन् । जलेका राहदानी बनाउनेहरूको पनि विभागमा आउँदा भीड बढेको महानिर्देशक अर्यालले बताए । उनले भने, ‘हाम्रो तथ्यांकमा करिब ६ हजार राहदानी जलेका छन् । ती एकैपटक बल्कमा रिप्रिन्ट गर्ने भन्दा पनि जसलाई जरुरी छ, उसैलाई प्राथमिकता दिनुपर्छ भनेर काम भइरहेको छ ।’
अर्यालका अनुसार अहिले देखिएको भीडभाड एक-दुई हप्तामै समाधान हुन्छ, त्योअनुसार काम पनि भइरहेको छ । यसमा राहदानी विभाग, परराष्ट्र मन्त्रालय र सिंगो नेपाल सरकारले विभिन्न प्रयास गरिरहेको उनको भनाइ छ । अहिलेको भीडलाई व्यवस्थापन गर्न सबै कूटनीतिक च्यानललाई विभागले प्रयोग गरिरहेको छ । त्यसैले एक-दुई हप्ताभित्रमा समस्या समाधान हुने सम्भावना छ ।
अर्यालले सबैले राहदानी पाउनसक्ने स्थिति रहेकाले नआत्तिन सबैलाई आग्रह समेत गरे । ‘मेरो चाहीँ अनुरोध छ सबैलाई, आत्तिनुपर्ने केही छैन । सबैलाई हामीले जरुरी छ भने राजधानी दिन्छौँ र त्यो जरुरी हुनेलाई सहज रूपमा, यदि केही व्यवस्था भयो भने, एकदम सहज रूपमा दिने गरी हामीले व्यवस्था मिलाउँछौँ । त्यसैले एक-दुई हप्ता चाहीँ पर्खिदिनुहुन अनुरोध छ । त्योभित्रमा हामीले गृहकार्य गरिरहेका छौँ र सबैलाई सहज रूपमा दिने गरेर राजधानी वितरण हुने गरी हामी व्यवस्था मिलाउँछौँ र यसका लागि सबैको सहयोगका लागि अनुरोध गर्दछु,’ महानिर्देशक अर्यालले भने ।








