हाम्रो पिँढीले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत राखेनः राम कार्की

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता राम कार्कीले आफूहरूले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने नसकेको बताएका छन् ।
मंगलवार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
उनले खास गरेर आफूहरूको पिँढीले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत राख्न नसकेको स्वीकार गरे ।
हाल नेपालको कम्युनिष्ट आन्दोलन विघटन हुन पुगेको उनको भनाई छ । केही नेताहरूको लागि पार्टीहरू भएपनि जनता र जेनजीको नजरबाट हेर्दा पार्टीहरू विघठित भइसकेको उनले बताए । उनले जेन–जी युवाहरूको भावना विपरीत भ्रष्टाचारका मुद्दा लागेका नेताहरू टाउकोमा कल्की झुन्डाएर ठुलो पदमा पुगेको बताउनुहुँदै एकताको स्वाङ गरिरहेको आरोप लगाए ।
उनले भने ‘नेपालका राजनीतिक पार्टी र जनसमुदायको बीचमा एउटा गहिरो र फराकिलो खाडल तयार भयो । खाडल छ भन्ने कुरा सबैले भन्दै थिए, लेख्दै थिए । तर त्यहाँ खास गरेर हाम्रो पिँढीले हाम्रो नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत राखेन । नेपालको कम्युनिष्ट आन्दोलन आज विघटन हुन पुगेको छ । केही नेताहरूको लागी र ती नेताहरूको वरिपरि बस्ने शिष्य, मंगलका निम्ति पार्टी छ । तर जनताको नजरबाट हेर्दा जेनजीको नजरबाट हेर्दा २३ र २४ को नजरबाट हेर्दा पार्टीहरू विघठित भएका छन् । पार्टीहरूको केही अस्तित्व छैन । जेनजी युवाहरूको जुन भावना हो भ्रष्टाचार मेटाईदिउँ भन्ने तर अहिले भ्रष्टाचारका मुद्दा लागेका मान्छेहरू, भ्रष्टाचारका अभियोग लागेका नेताहरू टाउकोमा कल्की झुन्डाएर ठुलो पदमा पुगेर यहाँ एकताको स्वाङ गर्दैछन् ।’
नेता कार्कीले आफूहरूले राजनीतिक दलका लागि मात्रै दल निर्माण गर्न नलागिएको पनि दाबी गरे । उनले मजदुर, किसान, गरिब सबैको सहअस्तित्व रहने समाजवादी सङ्गठन निर्माण गर्ने बताए ।








