पार्टी दुई–तीन जना नेताको वन्धक बनेको काँग्रेस संस्थापन पक्षीय नेताहरुको आरोप

काठमाडौं । पार्टीको १५ औं महाधिवेशनको कार्यतालिकामा सहमति जुट्न नसकेपछि नेपाली काँग्रेसका संस्थापन पक्षीय नेताहरू अलग्गै छलफलमा जुटेका छन् ।
नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्याङ्क्वेटमा जारी उक्त छलफलमा केन्द्रिय सदस्यहरूले पार्टीको आन्तरिक जीवनलाई बलियो बनाउनको लागि महाधिवेशनको मिति तोकेर अगाडि बढ्नुपर्ने कुरामा जोड दिएका छन् ।
पार्टीको इतर पक्षले मङ्सिरभित्रै नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने अडान राखेका छ भने संस्थापन पक्ष निर्वाचनपछि मात्र अधिवेशन धकेल्ने पक्षमा देखिएको छ ।
छलफलमा तत्काल पार्टीलाई निर्वाचनको तयारीमा केन्द्रित गर्दै सँगसँगै महाधिवेशनको तयारी कसरी अगाडि बढाउने भन्ने विषयमा भइरहेको छलफलमा सहभागि पार्टी केन्द्रिय सदस्य गुरु बरालले बताए ।
उनले पार्टीको आन्तरिक जीवनलाई बलियो बनाउने गरी महाधिवेशनको मिति तोकिनुपर्ने पनि बताए । उनले महाधिवेशन र चुनावको तयारी सँगसँगै कसरी गरेर जाने भन्ने विषयमा छलफल भइरहेको बताए ।
उनले पछिल्लो समय पार्टी एकदुई जना नेताको बन्धक बनेको भन्दै छलफलबाट केन्द्रिय समितिमा नयाँ प्रश्ताव लैजाने तयारी भइरहेको पनि बताए ।
महाधिवेशनको कार्यतालिकामा सहमति जुट्न नसक्दा पार्टीको केन्द्रीय समिति बैठक बस्न सकिरहेको छैन । अर्को बैठक मंगलवार दिउँसो १ बजेको लागि बोलाइएको छ ।








