व्रह्मा मन्दिरमा ४० वर्षपछि मूर्ति पुनः स्थापना

काठमाडौं । छैटौँ शताब्दीमा बनेको ऐतिहासिक व्रह्माको मूर्ति मन्दिरमा पुनः स्थापना गरिएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर ८ को पहलमा पाशुपत क्षेत्रमा मन्दिर निर्माण गरी मूर्तिको पुनः स्थापना गरिएको हो । उक्त ऐतिहासिक मूर्ति ४० वर्षदेखि गौशला प्रहरी वृतमा रहेको थियो ।
पञ्चाङ्ग निर्णायक समितिले दिएको समयअनुसार सोमवार बिहान बाजागाजासहित रथ रोहण गरेर मूर्तिलाई प्रहरी वृतबाट मन्दिरमा लगिएको हो ।
काठमाडौं महानगर वडा नम्बर ८ का अध्यक्ष आशामान सङ्गतले हराएर भेट्टाएपछि प्रहरीले सुरक्षित रूपमा प्रहरी वृत गौशलामा मूर्तिलाई राखेको जानकारी दिए ।
उनले मन्दिर पुनर्निर्माण गरिसकेपछि सोमवार मूर्तिको पुनः स्थापना गरिएको बताए । उनकाअनुसार मन्दिरको औपचारिक उद्घाटन भने कात्तिक २१ गते काठमाडौं महानगरप्रमुख बालेन्द्र शाहको उपस्थितिमा हुनेछ ।
सर्वसाधारणको लागि पनि कात्तिक २१ पछि नै पूजाआजाको लागि मन्दिर खुला गरिने उनले जानकारी दिए । उनले व्रह्माको मूर्ति नेपालमा यही एउटा मात्रै भएको बताए ।
उनले विष्णुको मूर्ति पनि रहेको र त्यसलाई पनि पुनर्निर्माणको लागि वडा कार्यालयले काम गरिरहेको जानकारी दिए । यद्यपि पुरातत्त्व विभागका कारण केही ढिला भएको उनको भनाई छ ।
छैटौँ शताब्दीमा निर्माण भएको व्रह्माको चतुरमुख मूर्तिसहितको ऐतिहासिक मन्दिर १९९० सालको भूकम्पभन्दा अगाडि नै भत्किएको थियो । भत्केपछि भग्नावशेष मात्र रहेकाले मूर्ति हराएको थियो ।
उक्त मूर्ति पछि धोबीखोलामा भेट्टाएर ४० वर्षदेखि गौशाला प्रहरी वृत्तमा राखिएको थियो । मूर्ति पुनः स्थापना कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता ढंगोल, वडाध्यक्ष सङ्गत, वडा सदस्यहरू, सम्पदाविद्, संस्कृतिविद् लगायत स्थानियको उपस्थिति रहेको थियो ।








