गफले रोजगारी सिर्जना हुँदैन : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका प्रमुख(मेयर) हर्क साम्पाङको गफले मात्रै रोजगारी सिर्जना नहुने बताएका छन् ।
आइतबार निर्वाचन आयोगले श्रम संस्कृति पार्टीलाई दिएको मान्यताको प्रमाणपत्र बुझ्दै उनले यस्तो बताएका हुन् । उनले रोजगारी सिर्जनाको लागि उत्पादन बढाउनुपर्ने बताए ।
श्रम संस्कृति पार्टीले उत्पादन, निर्माण, सामाजिक रूपान्तरण र आर्थिक रूपान्तरणको लागि फिल्डमा खटेर काम गर्ने उनको भनाई छ । उनले उत्पादन बढाउन नसक्दा प्रायः नेपाली बेरोजगार हुनुपरेको बताए ।
उनले देश आफैँले बनाउने मौलिक शैली अपनाउने उल्लेख गरे । देश विदेशी ऋणले मात्रै नचल्ने बताउँदै उनले देश अब नेपाली आफैँले बनाउनुपर्नेमा जोड दिए । उनले गरिबी, अभाव र यसकै कारणले हुने विभिन्न खालका ठगी, भ्रष्टाचार, बेइमानीलाई अन्त्य गर्ने बताए ।
उनले भने, ‘जुन काम आजसम्म भएन, यत्तिका वर्षसम्म । त्यो काम गर्ने हो । उत्पादन, निर्माण, सामाजिक रुपन्तरणका लागि, आर्थिक रूपान्तरणको लागी हामी अब फिल्डमा निस्केर काम गर्छौं । अफिसका बसेर भाषणमा सीमित हुँदैनौँ । हामी चाहिँ पक्का फिल्डका काम गर्ने एउटा संगठन निर्माण गर्दैछौँ । पहिला त यो देशमा काम गर्नुपर्छ । उत्पादन बढाउनुपर्छ । हामी सबै बेरोजगार छौँ प्रायः । रोजगारीको सिर्जना गफले हुँदैन । विदेशी ऋणले नी चल्दैन यो देश । त्यसले गर्दाखेरि यो देश अब हामी आफैँले बनाउनुपर्छ भन्ने हाम्रो मौलिक शैली छ । ती शैलीलाई हामीले विर्सियौँ । त्यो मौलिक शैलीहरूलाई पनि हामीले फेरि उजागर गर्छौ ।’
उनले आफूहरूले दलको झण्डा नराख्ने बताए । दलको चुनाव चिन्ह भने माटोको ढिस्को राखिएको छ । लोकतन्त्रमा विश्वास राख्ने भएकोले आवधिक निर्वाचनमा पार्टीले भाग लिने उहाँको भनाई छ । निर्वाचनको लागि तयारी पनि भइरहेको उनले जानकारी दिए ।
उनले परम्परागत राजनीतिक दलजस्तो आफ्नो पार्टी नहुने पनि दाबी गरे । हरेक टोलमा पार्टीले काम गर्ने श्रमदाता बनाउने उनले जानकारी दिए ।
निर्वाचन आयोगले साम्पाङको पार्टीलाई आइतबार मान्यता दिएको हो । साम्पाङले आइतबार आयोगमा पुगेर पार्टीको मान्यताको प्रमाणपत्र लिएका छन् ।








