मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

काठमाडौँ । छठ पर्वको खरनासँगै मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु भएको छ ।

सामा चकेवा पर्वको सुरिला गीतहरूले मिथिलाञ्चलाई सुरीलो बनाइरहेको छ । भाइ बहिनीको स्नेहको पर्व सामा चकेवाले पूरा मिथिलाञ्चलकै वातावरणलाई मनमोहक बनाउने गर्छ । मिथिलाको पारम्परिक पर्वको रूपमा रहेको सामाचकेवा छठको खरना अर्थात कार्तिक शुक्ल पञ्चमी तिथिबाट सुरु भई पूर्णिमा तिथि अर्थात दश दिनसम्म रातिमा छरछिमेकमा रहेका दाजुभाइ हुने दिदिबहिनीहरुले सामूहिक रूपमा खेल्ने गर्दछन् ।

यस पर्वमा माटोबाट सामा, चकेवा, वृन्दावन, चुगला, सातभाईया सहितका पात्रहरू निर्माण गरिन्छ र रातिको समयमा दिदिबहिनीहरु मिथिला संस्कृति झल्किने विभिन्न मैथिली गीतहरू गाउँदै चुगला नामक पात्रलाई गाली गर्दै बनेको हास्यपरिहास्यको माहौलले पर्वलाई मनोरञ्जनात्मक बनाउने गरेका छन् ।

सामाचकेवा पर्व भाइबहिनीको पर्व मात्र नभई वातावरणीय हिसाबले समेत महत्त्वपूर्ण रहेको संस्कृतिविद्हरू बताउँछन् । पद्म पुराणकाअनुसार भगवान् कृष्णकी छोरी श्यामा र बुन्दावनका कुमार चारुबक्य एकअर्कालाई माया गर्थे । राज्यका महासामन्त चूडक पनि श्यामालाई प्रेम गर्दथे । श्यामा र चारुवक्यलाई माया बन्धनमा बाँधिएको देखेर चुडकले श्यामाको सतीत्वमाथि लाञ्छना लगाउँदै भगवान् कृष्णलाई झुठो कुरा सुनाउँछ ।

भगवान् कृष्णले छोरीमाथी क्रुद्ध हुँदै छोरीलाई चरी बन्ने श्राप दिन्छन् । भाइ साम्बले पछि बहिनी श्यामालाई चरि योनीबाट मुक्त गराएको स्मरणमा यो पर्व मिथिलाञ्चलमा समेत मनाउन थालिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =