बेमौसमी वर्षा : पूर्वपश्चिम राजमार्गको दाउन्नेमा सडक अवरुद्ध

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा आज बिहानैदेखि परेको अविरल वर्षाका कारण सडक अवरुद्ध भएको छ । सडक मर्मतका लागि एकतर्फी गरिएको उक्त सडक वर्षाले हिलो र चिप्लो बनेपछि यातायात आवागमन पूर्ण रूपमा ठप्प भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले दिएको जानकारीअनुसार, विनयी त्रिवेणी गाउँपालिका-२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोला नजिक सडक अवरुद्ध भएको छ । बिहानैदेखि परेको पानीले गर्दा विशेषगरी पश्चिम दिशातर्फ जाने मालवाहक सवारीसाधनहरू उकालो चढ्न नसकेको उनले बताए । ‘बिहानैदेखि परेको पानीका कारण बाटो हिलो र चिप्लो भएको छ, जसले गर्दा सवारीसाधन पश्चिमतर्फ जान सकेका छैनन्,’ सूचना अधिकारी नेपालले भने, ‘दाउन्ने खण्डमा जाम हुन नदिनका लागि प्रहरी परिचालन गरिएको छ र सडक खुलाउने प्रयास भइरहेको छ ।’
सडक अवरुद्ध भएपछि यात्रु तथा चालकहरू अलपत्र परेका छन् । गन्तव्यमा पुग्न लागेका यात्रुहरू वर्षा र हिलोका कारण थप समस्यामा परेको देखिन्छ । सडक खुलाउनका लागि आवश्यक उपकरणसहितको टोली परिचालन भइसकेको र सकेसम्म चाँडो यातायात सञ्चालन गर्ने प्रयास भइरहेको प्रशासनले जनाएको छ । वर्षा नरोकिएका कारण सडक खुलाउन केही समय लाग्न सक्ने अनुमान गरिएको छ ।








