गाजामा युद्धविराम धरापमा, हमासद्वारा इजरायलमाथि उल्लंघनको आरोप

गाजा । इजरायल र हमासबीचको अस्थायी युद्धविराम सम्झौता थप संकटमा परेको छ । हमासले बुधबार एक विज्ञप्ति जारी गर्दै इजरायलले युद्धविरामको उल्लंघन गरेको आरोप लगाएको छ ।
विज्ञप्तिमा भनिएको छ कि गाजामा इजरायलको हालैको आक्रमणले अमेरिकी प्रशासनको संलग्नताका बाबजुद युद्धविराम सम्झौतालाई कमजोर पार्ने र बल प्रयोग गरेर नयाँ वास्तविकताहरू लाद्ने इजरायलको मनसायलाई उदांगो पारेको छ । यो विज्ञप्ति इजरायल र हमासले पछिल्ला दिनहरूमा युद्धविराम उल्लंघनको लागि एक-अर्कामाथि दोषारोपण गरिरहेका बेला आएको हो ।
गाजास्थित स्वास्थ्य अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार, रातभरको इजरायली आक्रमणमा ४६ बालबालिका र २० महिलासहित १०४ प्यालेस्टिनीको मृत्यु भएको छ । यसको प्रतिक्रिया स्वरूप, हमासले मंगलबार राति हुने भनिएको इजरायली बन्धकको शव हस्तान्तरण स्थगित गरेको बताएको छ । इजरायलले भने हमासले युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोप लगाएको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार युद्धविराम कायम रहने बताएका छन् । उनले इजरायलले आफ्नो सैनिक मारिएकाले प्रतिक्रिया दिनुपरेको पनि बताए । यस घटनाक्रमले गाजा क्षेत्रमा थप तनाव बढ्ने संकेत देखिएको छ ।








