नवलपरासीमा भारतको प्रख्यात स्न्याक्स ब्रान्ड ‘बिकाजी’को शिलान्यास

काठमाडौँ । चौधरी ग्रुपले वैदेशिक लगानी भित्र्याएको छ ।

चौधरी ग्रुपको एफएमसीजी कम्पनी सीजी फुड्सले भारतको प्रख्यात स्न्याक्स ब्रान्ड बिकाजी फुड्स इन्टरनेशनल सँगको सहकार्यमा नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा बिकाजी स्न्याक्स फ्याक्ट्रीको शिलान्यास गरेको हो ।

बुधवार आयोजित भूमिपूजन समारोहमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरीले स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी र कम्पनीका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा प्लान्टको शिलान्यास गरेका हुन् ।

समारोहमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको समेत उपस्थिति थियो ।

हालैको जेन जी आन्दोलनका क्रममा चौधरी ग्रुपका व्यावसायिक प्रतिष्ठानहरूमाथि आगजनी एवं तोडफोड भएको थियो । सीजी इलेक्ट्रोनिक्सको मुख्य केन्द्रमाथि आगजनी गरेर ध्वस्त बनाइनुका साथै ग्रुपका अध्यक्ष विनोद चौधरीको निजी निवासमा पनि आगजनी गरिएको थियो । उक्त घटनापछि ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले यस्ता घटनाका बाबजुद सीजीको नेपालप्रतिको प्रतिबद्धतामा कमी नआउने र नेपालको आर्थिक विकासका लागि नयाँ सोचका साथ अगाडि बढ्ने सङ्कल्प सार्वजनिक गरेका थिए । उक्त घटनाको करिब डेढ महिना बितिरहँदा चौधरीले ग्रुपले नेपालमा बहुराष्ट्रिय कम्पनीलाई भित्र्याएको हो ।

बिकाजीसँगको साझेदारीमा निर्माण हुन लागेको यो फ्याक्ट्रीमार्फत भुजिया, नमकीन लगायत बिकाजीका अन्य लोकप्रिय स्न्याक्सहरुको उत्पादन गरिनेछ । यो साझेदारी नेपालको खाद्य उद्योगलाई नयाँ गतिमा अघि बढाउने, आयातमा निर्भरता घटाउने र नेपाली बजारका लागि विश्वस्तरीय उत्पादन उपलब्ध गराउने विश्वास दुवै कम्पनीले लिएका छन् ।

यस प्लान्टमा पहिलो चरणमा करिब ५० करोड रुपैयाँ लगानी हुनेछ भने करिब चार सय रोजगारी श्रृजना हुनेछ ।

शिलान्यास समारोहमा बोल्दै प्रबन्ध निर्देशक वरुण चौधरीले भने, ‘नेपालको अर्थतन्त्रलाई नयाँ ऊर्जाको आवश्यकता रहेको समयमा हामीले नेपालमा नयाँ क्षेत्रमा लगानी गर्दैछौँ । यसले नेपालप्रति चौधरी ग्रुपको गहिरो प्रतिबद्धतालाई व्यवहारमा पुनः पुष्टि गर्दछ ।’

निराशाबाट गुज्रिरहेको नेपाली अर्थतन्त्रमा यस लगानीले नयाँ आशाको सञ्चार गर्ने विश्वास पनि प्रबन्ध निर्देशक चौधरीले व्यक्त गरे ।

उक्त प्लान्टको स्थापनाले स्थानीय रोजगारीमा नयाँ अवसरहरू श्रृजना हुनेछन् । प्रत्यक्ष एवं अप्रत्यक्ष रोजगारी सिर्जना गर्नुका साथै, स्थानीय किसान र आपूर्तिकर्तालाई लाभ पुर्याउने र नवलपरासीसहित आसपासका ग्रामीण क्षेत्रमा औद्योगिक गतिशीलता ल्याउन यस पहलले सकारात्मक योगदान पुग्ने पनि चौधरीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =