क्यामरुनको राष्ट्रपतिमा बियाको आठौँ जित, अर्को सात वर्षका लागि सत्तामा

काठमाडौं । ९२ वर्षीय पल बियाले ५३.६६ प्रतिशत मतका साथ आठौँ कार्यकालका लागि क्यामरुनको राष्ट्रपतिमा पुनः निर्वाचित भएका छन् । देशको संवैधानिक परिषद्ले सोमबार यो घोषणा गर्यो । यस जितसँगै बियाको ४२ वर्ष लामो शासन अझै सात वर्षका लागि लम्बिने भएको छ ।
क्यामरुन राष्ट्रिय मुक्ति मोर्चाका उम्मेदवार इस्सा त्चिरोमा बाकारीले ३५.१९ प्रतिशत मत प्राप्त गरी दोस्रो स्थान हासिल गरे । कुल ८० लाखभन्दा बढी दर्ता भएका मतदातामध्ये ४६ लाखभन्दा बढी क्यामरुनवासीहरूले मतदान गरेका थिए, जसले गर्दा मतदान दर ५७.७६ प्रतिशत पुगेको छ । यो दर सन् २०१८ को ५३.८५ प्रतिशतभन्दा बढी भए पनि सन् २०११ को ६५.८२ प्रतिशतभन्दा कम हो ।
अन्तिम नतिजा घोषणा गर्दा संवैधानिक परिषद्का अध्यक्ष क्लेमेन्ट अटांगानाले चुनाव स्वतन्त्र र निष्पक्ष भएको बताए । सन् १९८२ देखि सत्तामा रहेका बियाले क्यामरुन जनवादी आन्दोलनको नेतृत्व गर्दै आएका छन् । अब उन अर्को सात वर्षको कार्यकालका लागि देशमा शासन गर्ने तयारीमा छन् ।
चुनावको नतिजा घोषणासँगै राजधानी याउन्डे र व्यावसायिक राजधानी डुआलामा सुरक्षा कडा पारिएको थियो। आइतबार सुरक्षा बलले चार प्रदर्शनकारीलाई गोली हानी मारेको स्थानीय सञ्चारमाध्यमले रिपोर्ट गरे । विपक्षी समर्थकहरू चुनावी धाँधली भनिएको विरोधमा सडकमा उत्रिएका थिए ।
संविधानअनुसार नवनिर्वाचित राष्ट्रपतिले नतिजाको आधिकारिक घोषणा भएको १५ दिनभित्र शपथ लिनुपर्छ । संसद, संवैधानिक परिषद् र सर्वोच्च अदालतका सदस्यहरूको उपस्थितिमा क्यामरुनियन जनताको अगाडि शपथ ग्रहण समारोह हुनेछ ।








