कुपण्डोलमा छठ पूजाको लागि तयारी पूरा

काठमाडौँ । छठ पर्वको मनाउनको लागि ललितपुरको कुपण्डोलमा सम्पूर्ण तयारी पूरा भएको छ ।

कुपण्डोलको बागमती नदी किनारमा रहेको घाटलाई सरसफाइ गरेर नवदुलहीझैँ सजाइएको छ । मैथिल समुदायले पारिवारिक सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठ पर्वको सोमवार अस्ताउँदो सूर्यलाई अर्घ्य दिने तयारी छ । अस्ताउँदो सूर्यलाई अर्घ्य दिनको लागि घाटमा आवश्यक बन्दोबस्त मिलाइएको हो ।

विशेष गरी मधेस र मैथली क्षेत्रमा मनाइने छठ पहिल्लो वर्षहरूमा राजधानीमा समेत धुमधामको साथ मनाउन थालिएको छ । ललितपुरको कुपण्डोलमा ११ वर्षदेखि छठ पर्व मनाउन थालिएको छठ पूजा समितिका संयोजक सतिशकुमार झाले जानकारी दिए ।

कुपण्डोल भन्दा अगाडी रामघार र थापाथलीमा छठ पूजा गर्ने गरेको उनले बताए । २०४७ मा सर्वोच्चको पूर्वन्यायधीश कमलनाथ दास, डा गौरिशंकरलाल दा, हालका मन्त्री अनिल सिन्हका बुबा सुशिल सिन्हा लगायतले मिलेर काठमाडौँमा छठ मनाउन थालिएको उनले जानकारी दिए ।

छठ मनाउनेको संख्या बढ्दै गएपछि रामघाट, थापाथली हुँदै कुपण्डोल सरेको उनको भनाई छ । थापाथलीमा भने सुकुम्वासीहरूले छठ मनाउने ठाउँ कब्जा गरेको उनले बताए ।

उनले भने ‘हाम्रो ४/५ घरको परिवारबाट मेरो आफ्नो गुरु कमलनाथ दासजी हुनुहुन्थ्यो, सर्वोच्चको न्यायाधीश हुनुभएर रिटायर्ड हुनुभो । डा। गौरिशंकरलाल दास हुनुहुन्थ्यो । सुशिल सिन्हा हुनुहुन्थ्यो अहिलेका हाम्रो अन्तरिम सरकारका मन्त्री अनिल सिन्हा उहाँको बुबा । घरको ४/५ जना परिवारलाई जम्मा पारेर हामीले रामघाटमा पूजा सुरु गराएको हो २०४७ सालमा । त्यहाँदेखी हुँदाहुँदै गर्दा थापाथलीको पुल दुई वटा थिएन, पूर्वपट्टिको पुल एउटा मात्रै थियो । पछि पश्चिमपट्टीको पुल थप्दाखेरिको त्यहाँ ठाउँ साँघुरो हुन गयो । दिनका दिन व्रतालुहरूको संख्या बढ्दै गइसकेपछि हामी त्यो प्रसूति गृहको पछाडि त्यहाँ १३ वर्ष छठ पूजा समितिले नै त्यो घाट बनाएको थियो । त्यहाँ १३ वर्ष पूजा गरिसकेपछि सुकुम्वासीले कब्जा गरे । त्यतिखेर राजनीतिक आस्था भएकोले समर्थन पाए, समर्थन भएकोले हामी त्यहाँबाट वञ्चित हुनुपर्याे । हामी त्यो घाटबाट सरेर यहाँ आइपुगेको अहिले ११ वर्ष भयो ।’

उनले छठ पूजाको लागि ललितपुर महानगरपालिकाले भरपुर सहयोग गरेको बताए । महानगरको वडा नम्बर १ र १० ले पनि सक्रिय सहभागिता जनाएर सहयोग गरिरहेको उनले जानकारी दिए । हाल यहाँ ६० प्रतिशत स्थानीयले पनि सहभागिता जनाउने गरेको उनको भनाई छ । प्रसुतिगृह पछाडि पूजा गर्दा पनि काठमाडौँ महानगरपालिकाले सकेसम्मको सहयोग गरेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + seventeen =