दोषी देखिएमा प्रचण्डलाई पनि जेल हालियोस्: जेनजी रेडफोर्स संयोजक तिमिल्सिना

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट जेनजी रेडफोर्स संयोजक स्मृति तिमिल्सिनाले माओवादी केन्द्रभित्र रहेको भ्रष्टाचार छानबिन गर्न सरकारसँग माग गरेकी छन् ।

जेनजी रेडफोर्सका एजेण्डा सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो माग गरेकी हुन् । उनले माओवादी केन्द्रमा पनि भ्रष्टाचार रहेको उल्लेख गर्दै सरकारले छानबिन गर्नुपर्ने बताइन् ।

छानबिनका क्रममा दोषी देखिएमा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाललाई पनि जेल हाल्नुपर्ने उनको भनाई छ । उनले रेडफोर्सले भ्रष्टाचार विरुद्ध शंखनाद गरेर आवाज उठाउने बताइन् ।

रेडफोर्सले देशका कुनैपनि भ्रष्टाचार नसहने उनको भनाई छ । उनले यो अब देश जेनजी रेडफोर्सले मात्रै बनाउने दाबी गरिन् ।

उनले जेनजी रेडफोर्स माओवादीको मात्रै नभएको बताउनुहुँदै नेपालभरिका वामपन्थी, कम्युनिस्ट विचारधारा मन पराउने सबैलाई जोडिन आग्रह गरिन् ।

उनले भनिन् ‘माओवादी केन्द्रमा भ्रष्टाचार नै छैन, भन्दिन म । भ्रष्टाचार छ, त्यो भ्रष्ट्राचारलाई यो सरकारले छानोस् र गल्ती देखिएको खण्डमा उनीहरूलाई दोषी देखिएमा हाम्रो सुप्रिम कमाण्डरलाई पनि तपाईँहरूले जेल हाल्न सक्नुहुन्छ, यदि उहाँ दोषी देखिनुहुन्छ भने । रेडफोर्स भ्रष्टाचार विरुद्ध शंखनाथ गरेर आवाज उठाउँछ । रेडफोर्सले देशका कुनैपनि भ्रष्टाचार सहनेछैन ।’

जेन—जी रेडफोर्सले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, विज्ञबाट मन्त्रीपरिषद् गठन, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गर्नुपर्ने, सबै भ्रष्टाचारको छानबिन गरी कारबाही, संवैधानिक निकाय तथा शैक्षिक क्षेत्रका नेतृत्व तथा पदाधिकारी खुला प्रतिस्पर्धाबाट हुनुपर्ने, उच्चपदस्थ सबै व्यत्तिहरुको सम्पत्ति छानबिन हुनुपर्ने, सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुनुपर्ने, बन्द अवस्थामा लगाएका उद्योग कलकारखाना सञ्चालन गर्नुपर्ने लगायतका माग अगाडी सारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =