छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौँ । रूपन्देही, सैनामैना नगरपालिका–५ तुल्बुलिया खोला पुलस्थित सडकमा बुटवलबाट सालझण्डीतर्फ आउँदै गरेको लु.प्र.०१–००३ प ४०४६ नम्बरको मोटरसाइकल लु.प्र.०१–००२ प ९०१६ नम्बरको स्कुटरमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक गुल्मी मालिका गाउँपालिका–५ बस्ने २४ वर्षीय बिष्णु प्रसाद अर्यालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले स्कुटर चालकलाई नियन्त्रणमा लिएको छ ।
सुनसरी, इटहरी उपमहानगरपालिका–४ पानधारेस्थित सडकमा प्र.१–०२–००१ ज ४५३३ नम्बरको ईभी गाडीको ठक्करबाट सोही ठाउँ बस्ने ४५ वर्षीया शान्ती देवी साहको शनिबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नोबेल मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएकी अन्य १ जना पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले हाल फरार गाडी चालकको खोजी गरिरहेको छ ।
प्युठान, माण्डवी गाउँपालिका(१ अरूणखोलास्थित सडकमा त्रिवेणीबाट जस्पुरतर्फ जाँदै गरेको लु.२५ प ७०१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका–२ रातापानी बस्ने २६ वर्षीय बिष्णु घर्ति मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै ललितपुर, बाग्मती गाउँपालिका–१ सिस्नेडोलस्थित सडकमा मानेभञ्ज्याङबाट थलीभञ्ज्याङतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२–०२८ प ४४६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा चालक सोही गाउँपालिका–१ धुसेलथली घर भएका ३२ वर्षीय राजु सापकोटाको घटनास्थलमै मृत्यु भएको छ ।
यसैगरी ललितपुर, गोदावरी नगरपालिका–१४ बाडेगाँउस्थित सडकमा बा.६२ प ४७२६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–१४ बस्ने ५० वर्षीया मैया महर्जनको मृत्यु भएको छ । शनिबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको बि एण्ड बि अस्पतालमा थप उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो ।
प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।
त्यस्तै धनुषा, लक्ष्मीनिया गाउँपालिका–७ लक्ष्मीनिया चोकस्थित सडकमा महेन्द्रनगरबाट जनकपुरतर्फ जाँदै गरेको प्र.२–०२–००५ प ५६०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक महोत्तरी लोहरपट्टी नगरपालिका–७ बस्ने ३० वर्षीय अवधेश मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।








