सरकार र मिडियाले हामीलाई छुट्याउने काम नगरोस्: जेनजेड युनाइटेड

काठमाडौँ । जेनजी पुस्ताका युवाहरूलाई एकताबद्ध हुन र शहीदहरूको रगत नबिर्सन खबरदारी गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।
जेनजी समूहहरूलाई एकताबद्ध भई शहीदका सपनाहरू पूरा गर्न खबरदारी गर्न जेनजेड युनाइटेडको नामबाट शुक्रवार माइतीघर मण्डलामामा प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा बालबालिकाहरू र शहीद परिवारका सदस्यहरू पनि सहभागी छन् । प्रदर्शनकारीहरूले ‘राष्ट्र पहिला, अहंकार पछि’, ‘देश दुख्दा मौन नबसौँ, एक हौँ’, ‘शहीदहरूको रगत नबिर्स’, ‘देशका घाउहरू हाम्रो जिम्मेवारी’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।
प्रदर्शनमा सहभागी जेनजी युवा आनन्दमान साम्पाङले मुलुकको विकास र समृद्धिको लागि सबै जेन–जीहरू एक हुनुपर्ने बताए । उनले सरकार र सञ्चार माध्यमहरूलाई समेत नकारात्मक सन्देश फैल्याएर जेनजीहरूलाई छुट्याउने काम नगर्न चेतावनी दिए ।
उनले भने ‘अहिले हाम्रो मुख्य मुद्दा भनेको युनाइटेड हुनु हो । म इलामो एउटा जेनजी आज यहाँ छु । किनभने हामी युनाइटेड हुन चाहन्छौँ । कसैले पनि हामी जेन–जीहरूलाई छुट्याउने प्रयास नगरोस् । हामी एक हुन चाहन्छौँ । सरकार र मिडियाले गलत म्यासेज पठाएर हामीलाई छुट्याउने काम नगरोस् । अहिले हामी छिन्नभिन्न हुने होइन । हामी सबै जेनजी पुस्ता एक भएर अगाडि बढ्ने दिन आएको छ ।’
नेपाली झण्डा शरीरमा ओढेर शान्तिपूर्ण प्रदर्शन गरिरहेका उनीहरूले जेन–जी समूहलाई एकताबद्ध गर्न सरकारले समेत सहयोग गर्नुपर्ने माग राखेका छन् ।








