ट्रम्पको ‘युद्धविराम’ प्रस्ताव पुटिनले गरे अस्वीकृत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच हंगेरीको बुडापेस्टमा हुने भनिएको व्यक्तिगत भेटघाटको योजना भङ्ग भएको छ । ट्रम्पले रुस-युक्रेन युद्धलाई हालको अग्रपङ्क्तिमै युद्धविराम गरेर ‘स्थगन’ गर्ने प्रस्ताव गरेपछि वार्ता भङ्ग भएको हो । ट्रम्पले तत्काल कुनै बैठक नहुने सङ्केत दिँदै भने, ‘म व्यर्थको बैठक गर्न चाहन्नँ ।’
यो ४२ महिना लामो रुस-युक्रेन युद्ध अन्त्य गर्ने शान्ति वार्ता भङ्ग भएको पछिल्लो घटना हो । दुई महिनाअघि अगस्टमा अलास्कामा भएको शिखर वार्ता पनि परिणामविहीन थियो । ट्रम्पले युद्धलाई हालको युद्ध रेखामा नै ‘स्थगन’ गर्न र भविष्यमा क्षेत्रसम्बन्धी ‘विवरणहरू’ समाधान गर्ने प्रस्ताव गरेका थिए । उनले डोनबास क्षेत्रको ७८% भूभाग रुसले कब्जा गरिसकेकोले हालको यथास्थितिमा छोड्न सुझाएका थिए ।
युक्रेनका राष्ट्रपति जेलेन्स्कीसहित युरोपेली नेताहरूले ट्रम्पको युद्धविराम प्रस्तावलाई ‘दृढतापूर्वक’ समर्थन गर्दै हालको सम्पर्क रेखा नै वार्ताको सुरुवात बिन्दु हुनुपर्ने बताएका थिए । उनीहरूले पुटिनलाई शान्ति प्रक्रिया अवरुद्ध गरेको आरोप पनि लगाए । तर, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसी नेताले युद्ध ‘स्थगन’ गर्ने पछिल्लो प्रस्ताव स्वीकार नगर्ने स्पष्ट पारेका छन् । रुसको अडानमा ‘निरन्तरता’ रहेको उनले बताए, जसअनुसार युक्रेनको पूर्ण निःशस्त्रीकरण र युद्धको क्रममा कब्जा गरेको कुनै पनि क्षेत्र रुससँगै राख्नुपर्नेछ । रुसले सम्पूर्ण डोनबास क्षेत्रको नियन्त्रण माग गरेको छ ।
ट्रम्पले रुस र युक्रेनबीच युद्धविरामको मध्यस्थता गर्ने प्रयासमा आफ्नो अडान बारम्बार फेरेका छन् । गत वर्ष २४ घण्टाभित्र युद्ध अन्त्य गर्ने दाबी गरेका उनले अगस्टमा पुटिनसँगको भेटमा जेलेन्स्कीलाई सम्झौता स्वीकार गर्न दबाब दिएका थिए र ‘केही भूमि आदानप्रदान हुनेछ’ भनेका थिए । तर, अर्को महिना उनले युक्रेनले आफ्नो क्षेत्रहरू फिर्ता लिन सक्ने बताएर आफ्नो रणनीति बदलेका थिए ।
शिखर वार्ता भङ्ग हुनुको अर्थ तत्काल रुस-युक्रेन युद्ध अन्त्य हुने कुनै सङ्केत छैन। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी टोमाहक मिसाइलहरू उपलब्ध गराउने माग गरे पनि ट्रम्प प्रशासनले त्यो सहमति दिएन । ट्रम्पले युक्रेनका युरोपेली सहयोगीहरूले थप सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।








