फलफूल बजारमा छैन चहलपहल

काठमाडौँ । तिहारको चौथो दिन फलफूल किन्ने ग्राहकहरूको फलफूल पसलमा भिडभाड हुनुपर्ने हो । तर यसपटक भने फलफूल पसल सुनसान देखिन्छन् ।
जेन जी आन्दोलनका कारण व्यापारमा प्रभाव परेको व्यवसायीहरू बताउँछन् । बागबजारका फलफूल व्यापारी सुनिलकुमार पासवानले गतवर्षहरुमा जस्तो व्यापार यसवर्ष नभएको बताए । आन्दोलनका कारण काठमाडौँमा मान्छै नै नभएको उनको भनाई छ । पहिलेजस्तो चहलपहल नहुँदा व्यापारमा असर परेको उनको गुनासो छ ।
उनले भने ‘पहिले काठमाडौँमा धेरै मान्छेहरू थियो । व्यापार पनि राम्रो थियो । अहिले आन्दोलनको कारण हाम्रो स्थिति गम्भीर भएको कारण मान्छेहरूको चहलपहल छैन, पहिलेको जस्तो । पहिले त तिहारमा धेरै मान्छेहरूको चहलपहल हुने गर्थ्यो । तर आजभोलि हाम्रो बाघबजारको स्थिति धेरै नराम्रो छ ।’
सुनिलको जस्तै गुनासो अर्का व्यवसायी सोनु कुमारको पनि छ । उनले पनि जेनजी आन्दोलनका कारण तिहारमा व्यापार कम भएको गुनासो गरे । मान्छेसँग पैसा नभएका कारण पनि व्यापार सुस्ताएको उनको भनाई । उनले बजारभाउ पनि पहिले भन्दा केही बढेको बताए ।
उनले भने ‘आन्दोलनले गर्दा अहिले विजनेश कम भएको छ । मान्छेसँग पैसा छैन ।’
व्यापारीहरूले व्यापार नभएको गुनासो गरिरहँदा उपभोक्ताहरूको भने मंहगी बढेको गुनासो छ । फलफूल किन्न आउनुभएकी उर्मिला बस्नेतले अहिलेको धेरै महँगो बढेको बताए । पोहोरको भन्दा अहिलेको बजारमूल्य धेरै फरक रहेको उनको भनाई छ । उनले तिहारको लागी आवश्यक समानहरू पनि बजारमा नपाइएको गुनासो गरे ।
तिहारमा फूलहरूको धेरै महत्त्व हुने उल्लेख गर्दै उनले सयपत्री फूल नै नपाएको बताए । उनले मंहगी र अभाव दुवै रहेको बताए ।
उनले भने ‘सामान्य दिनमा भन्दा अहिले चाडपर्वमा धेरै महँगो छ, सामान । अहिले फूलहरूको धेरै महत्त्व हुन्छ, सयपत्री फूलै पाइरहेको छैन । हामीहरू फूल नपाएर थोर थोरै किनिरहेका छौँ । त्यही नि धेरै मंहगो छ, सागसब्जी पनि धेरै महँगो छ । पोहोरको भन्दा अहिले धेरै अभाव छ, समानहरू ।’
तिहारमा फलफूल, माला, भाईमसला, टोपी लगायत सामाग्रीहरूको किनबेचको लागी बजारमा मानिसहरूको भीडभीड हुने गरेको थियो । तर यसवर्ष भने बजार सुनसान देखिएको छ ।








