नेपाली नोटमा नेपाल संवत उल्लेख गर्ने व्यवस्था मिलाउँछु: प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली नोटमा नेपाल संवत उल्लेख गर्ने व्यवस्था मिलाउने बताएकी छन् ।

राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले बुधवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

उनले नेपाली नोटमा नेपाल संवत उल्लेख गर्ने विषयमा नेपाल राष्ट्र बैकसँग परामर्श गरी प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाइन् । नेपाल संवत विशेष गरी कान्तिपुर र भादगाउँमा उत्पत्ति भएपनि राष्ट्रकै मौलिक संवत भएको उनको भनाई छ । नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाः एक कुशल व्यापारीभएपनि उनी नाफा कमाउने व्यापारी नभएको उनले बताइन् ।

साख्वाः एक महान् समाजसेवी र लोक कल्याणकारी व्यक्तित्व भएको उनको भनाई छ । उनकाअनुसार ११४६ वर्ष अगाडी राजा रागवदेवको शासनकालमा शंखधर साख्वाःले गरिबी र ऋणमा डुबेका नागरिकहरूको ऋण विमोचन गरी ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने ऐतिहासिक निर्णय लिए । यो दिन नै नेपाल संवतको शुभारम्भको आधार भएको प्रधानमन्त्री कार्कीले बताइन् ।

विसं ९३६ मा नेपाल संवतको थालनी गरिएको उनले जानकारी दिइन् । नेपाल संवत कुनै राजाको शक्ति वा युद्धको विजयबाट प्राप्त नभई एक व्यापारीको त्याग र परोपकारको आधारमा सुरु भएकोले यसको महत्त्व निकै उच्च रहेको प्रधानमन्त्री कार्कीको भनाई छ । नेपाल संवत लोकस्तरबाट उत्पत्ति भएको र यसले लोक विरासत बोकेको उनले बताइन् ।

उनले भनिन् ‘नेपाल राष्ट्र बैकद्धारा निष्कासित गरिने नोटमा नेपाल संवत उल्लेख गर्ने विषयमा सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु । यो विशेष गरी कान्तिपुर र भादगाउँमा उत्पत्ति भएपनि राष्ट्रकै मौलिक संवत हो । शंखधर साख्वा काठमाडौँको मधुसत्तन इलाकाका एक कुशल व्यापारी हुनुहुन्थ्यो । तर उहाँको परिचय नाफा कमाउने व्यापारीमा मात्रै सीमित थिएन । एक महान् समाजसेवी र लोक कल्याणकारी व्यक्तित्व हुनुहुन्थ्यो । आज भन्दा ११४६ वर्ष अगाडी राजा रागवदेवको शासनकालमा उहाँले गरिबी र ऋणमा डुबेका नागरिकहरूको ऋण विमोचन गरी ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने ऐतिहासिक निर्णय लिनुभयो । यो दिन नै नेपाल संवतको शुभारम्भ भएको आधार हो । उहाँको यही अतुलनीय योगदान र सामाजिक न्यायको महान् कार्यको कदर स्वरूप वि।सं ९३६ मा नेपाल संवतको थालनी गरियो । यो संवत कुनै राजाको शक्ति वा युद्धको विजयबाट प्राप्त होइन बरु एक व्यापारीको त्याग र परोपकारको आधारमा सुरु भएकोले यसको महत्त्व निकै उच्च छ । अर्थात् यो लोकस्तरबाट उत्पत्ति भएको र लोक विरासत बोकेको संवत हो ।’

प्रधानमन्त्री कार्कीले नेपाल संवतलाई सरकारी कागजातमा समेत उल्लेख गरेर सरकारले यसलाई प्रवर्द्धन र व्यवहारिक रूपमा लागू गर्न तत्परता देखाएको बताइन् । नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाः लाई वि.सं २०५६ मा राष्ट्रिय विभूति घोषणा गरिएको थियो । नेपाल संवतलाई भने २०६५ कात्तिक ७ गते राष्ट्रिय संवत घोषणा गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 18 =