भ्रष्टाचार नियन्त्रणका लागि सबै पक्षको उचित सहयोगको आवश्यकता छः प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रण गर्ने राष्ट्रिय अभिभारा सबै पक्षलाई सहयोग गर्न आग्रह गरेकी छन् ।

नेपाल संवतको अवसर पारेर बुधवार काठमाडौँको वसन्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जेन—जी आन्दोलनले भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा उठाएको आवाजलाई सम्बोधन गर्ने मूल दायित्व सरकारमाथि रहेको उल्लेख गर्दै सो अभिभारा पूरा गर्नका लागि सबैलाई साथ दिन आग्रह गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले सरकारले निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ भ्रष्टाचार र सुशासनको मुद्दामा मौन बसेको छ भन्ने सत्य नभएको स्पष्ट पार्दै त्यसमा परिणाम आउने गरी राज्यको संयन्त्रहरूबाट काम भइरहेको दाबी समेत गरिन् ।

उनले नेपालको संविधानको अधीनमा रही सरकारले भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा काम गरिरहेको समेत बताइन् ।

उनले भ्रष्टाचार नियन्त्रण, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्दै लोकतन्त्रलाई जीवित राख्ने र भ्रष्टाचार नियन्त्रण गर्ने राष्ट्रिय अभिभारा पूरा गर्न सबै राजनीतिक दल, वर्ग र समुदायले सरकारलाई सहयोग गर्ने विश्वास समेत व्यक्त गरिन् ।

प्रधानमन्त्री कार्कीले भनिन् ‘जेन—जी आन्दोलनको बलमा बनेको यस नागरिक सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने जिम्मेवारी प्राप्त गरेको यहाँहरूलाई विदितै छ । विद्रोहपछिको अवस्थालाई सामान्यकरण गरी आगामी फागुन २१ गते भयरहित ढंगले त्यो चुनाव सम्पन्न गर्ने वातावरण तयार गर्न यो सरकार दत्तचित्त भएर लागेको छ । प्रत्येक दिन राजनीतिक दलहरूसँग कुनै न कुनै रूपमा संवाद भइरहेको छ । परिवर्तनका बाहक जेन—जी समुदायसँग पनि निरन्तर संवाद र सम्पर्कमा छौँ । निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ भ्रष्टाचार र सुशासनको मुद्रामा मौन बसेका छौ भन्ने होइन । नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्ने मूल दायित्व पनि हामी माथि छ । यसमा पनि परिणाम दिने गरी राज्यका संयन्त्रहरूबाट काम गरी अघि बढाइरहेको छ । यसका लागि समाजका सबै पक्षको उचित भूमिका हुन्छ । आउनुहोस्, यसमा सहकार्य गरौँ । र सचेत नागरिकको भूमिका निर्वाह गरौँ । समाजमा सदभाव र एकता कायम गर्दै लोकतन्त्र जीवित राख्ने र भ्रष्टाचार नियन्त्रण गर्ने राष्ट्रिय अभिभारा पूरा गरौँ । यस कार्यमा सबै राजनीतिक दल, वर्ग, समुदायको साथ र सहयोग रहनेछ भन्नेमा विश्वस्त रहेको छु ।’

त्यस अवसरमा प्रधानमन्त्री कार्कीले नेपाल सम्वत नेपालीहरूको मौलिक सम्वत रूपमा रहेकाले त्यसका संरक्षण संवर्द्धन गर्न सरकारले विशेष ध्यान दिएको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + ten =