पुराना दलहरुले कुतर्क छोड्नुपर्छ, नत्र देश उँभो लाग्दैन : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको निष्पक्षता सुनिश्चित गर्न सरकारसमक्ष महत्वपूर्ण सर्तहरू राखेको छ । फागुन २१ मा हुने भनिएको निर्वाचनबारे प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठकमा रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले र सोविता गौतमले निर्वाचन आयोगबाट ‘दलीय छायाँ’ हटाइनुपर्ने मुख्य माग अघि सारेका छन् ।

उपसभापति वाग्लेले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पार्टीको अडानमा चरम कुशासन र अहङ्कारको प्रतीक बनेको एमाले-कांग्रेस सरकार ढल्नुपर्ने रास्वपा पहिलो दल रहेको उल्लेख गर्दै, हालको सुशीला कार्की नेतृत्वको सरकारप्रति सद्भाव र शुभेच्छा रहेको तर यो समर्थन निःशर्त र अनन्तकालीन नहुने स्पष्ट पारेका छन् । उनले प्रतिशोधको राजनीति विरुद्ध सरकार उभिनुपर्नेमा जोड दिएका छन् ।

‘शासकीय वैधताको स्रोत’ पुनर्ताजगीका लागि पाँच अपेक्षा:
१. विगतका घटनाको छानबिन र दलीय छायाँ हटाउने: भदौ २३ को नरसंहार र २४ को हिंसा-आगजनीबारे निष्पक्ष छानबिन हुनुपर्ने र रास्वपाविरुद्ध ११ महिनादेखि भइरहेको षड्यन्त्र अन्तर्गत निर्वाचन आयोगबाट दलीय छायाँ तत्काल हटाइनुपर्ने ।
२. भ्रष्टाचार नियन्त्रणमा कडाई: लुकाइएका र दबाइएका दर्जनौँ भ्रष्टाचारका केसहरूमाथि कारबाही गर्दा लहड नभई विधि र संस्थाको सहारा लिनुपर्ने । साथै, ‘चुनाव भाँडिन्छ’ भन्ने पुरानो दलहरूको कुतर्कलाई अस्वीकार गर्न सरकारलाई दह्रो खुट्टा टेकी अघि बढ्न आग्रह ।
३. आर्थिक सुधार र पूर्वाधार विकास: ‘आर्थिक सुधार-सुझाव प्रतिवेदन’ का ४७८ वटा सिफारिसको बहुसंख्यक कार्यान्वयन गरी सार्वजनिक खरिद तथा ठेक्कापट्टाका विकृतिहरू हटाउँदै भौतिक पूर्वाधारका नयाँ मानकहरू स्थापित गर्नुपर्ने ।
४. संविधान संशोधन र संवादको सुनिश्चितता: संविधान संशोधनको कार्यसूची निर्माणका लागि विश्वसनीय उच्चायोग गठन गर्नुपर्ने र सर्वदलीय संवादलाई संस्थागत एवं फराकिलो बनाई नागरिक समाज तथा नयाँ-पुराना मिडियाको आवधिक संलग्नता गराउनुपर्ने ।
५. निष्पक्ष निर्वाचन र डायस्पोराको सहभागिता: निष्पक्ष, भयरहित निर्वाचनका लागि राष्ट्र संघ र मित्रराष्ट्रहरूको पर्यवेक्षकीय भूमिका सुनिश्चित गर्नुपर्ने । विदेशमा रहेका नेपालीहरूको मतदानका लागि सार्थक कूटनीतिक-प्राविधिक पहल गर्दै, डायस्पोराको घनत्व भएका स्थानमा न्यूनतम ‘पाइलट’ कार्यक्रमको ग्यारेन्टी गर्नुपर्ने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fourteen =